सर्लाहीमा आज फेरि बाक्लाे हुस्सु, जनजिवन असहज

3

हरिवन – हिजाे (साेमबार) घाम लागेर केही राहत महसुस गरेका सर्लाहीबासीले आज (मंगलबार) फेरि बाक्लाे हुस्सु कुहिराेकाे सामना गर्नु परेकाे छ ।

केही दिनदेखि निरन्तर लागिरहेको बाक्लो हुस्सु हटेर सोमबार भने दिनभर पारिलो घाम लागेको थियाे । तर आज बिहानैदेखि फेरि बाक्लाे हुस्सु कुहिराे सहित शितलहर समेत चलेपछि जनजिवन अत्यन्त कष्टकर बनेकाे छ ।

सर्लाहीमा अघिल्लाे आईतबारदेखि दिनहुँजसो बाक्लो हुस्सु र शीतलहरले कठ्यांग्रिदो चिसो हुँदा सर्बसाधारणकाे जनजिवन अत्यन्त प्रभावित बनिरहेकाे छ । विशेष गरी चिसोबाट झुप्रा बस्तीका अति विपन्न, मजदुर र पिछडिएको दलित परिवारहरु काममा निस्कन समेत समस्यामा परेका छन् । स्थानीय सरकार एवं विपद व्यवस्थापन सम्बन्धी काम गर्ने सरकारी एवं गैर सरकारी संघ संस्थाले विपन्न परिवारलाई चिसाेबाट जाेगाउन खासै कामहरु गरेकाे देखिएकाे छैन ।