सडकमा बसेका आमाछोराको उद्धार

उद्धार गरेर आश्रममा ल्याइएका आमा छोरा । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवनबाट शनिवार दुईजना सडक मानवको उद्धार गरिएको छ ।

हरिवन नगरपालिकाको बाँसाटोलबाट दुईजना आमा छोरालाई उद्धार गरिएको हो । उद्धार गरिएकाहरुलाई हरिवनस्थित नयाँरोडमा रहेको मानव सेवा आश्रममा लगेर राखिएको संस्थाका राष्ट्रिय संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

कठ्यांग्रिदो चिसोमा सडकमै बेवारिसे अवस्थामा बसिरहेका आमाछोरालाई उद्धार गरेर आश्रममा राखिएको हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेलले जानकारी दिईन् । पुस ८ गतेदेखि माघ ८ गतेसम्मका लागि मेची–महाकाली राष्ट्रिय उद्धार कार्यक्रम सञ्चालन गरेको मानव सेवा आश्रमले विभिन्न जिल्लाहरुबाट अशक्त, बेसहारा, अभिभावक विहिन, मानसिक समस्याका विरामी एवं सडकमा मागेर हिँडने ‘सडक मानव’ लाई उद्धार गरिरहेको छ ।

आश्रमले यसअघि एकै परिवारका तिनजनासहित तेह्रजनालाई उद्धार गरिसकेको छ । मासिक ४२ हजार रुपियाँ भाडा तिर्नेगरी घर भाडामा लिएर आश्रम सञ्चालन गरिरहेको पनि अध्यक्ष अधिकारीले बताए । आश्रम सञ्चालनका लागि हरिवन नगरपालिकाले पनि यथाशक्य सहयोग गरिरहेको छ ।