ईन्दुशंकरद्धारा उखु किसानलाई चालू सिजनकै भुक्तानी सूरु

4
इन्दुशंकर चिनी उद्योग हरिवनमा किसानले क्रसिङका लागि टायरगाढामा ल्याएका उखु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – मुलुकका कतिपय चिनी उद्योगले वर्षौंदेखिको भुक्तानी नगरेपनि सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगले भने चालू सिजनमै खरिद गरिएको उखुको भुक्तानी सूरु गरेको छ ।

ईन्दुशंकरले गतवर्षको उखुको मूल्यलाई नै आधार मानेर किसानलाई यस वर्षको उखु खरिद गरेवापतको भुक्तानी सुरु गरेको हो । गत पुष ६ गतेबाट संञ्चालनमा आएको यस मिलले साँढे सात लाख क्वीन्टल भन्दा बढी उखु क्रसिङ गरिसकेको उद्योगका वरिष्ठ प्रशासकिय अधिकृत ठाकुर नेपालले जानकारी दिए ।

नेपालका अनुसार गत पुष १५ गतेसम्मको उखु खरिद वापतको करिब १२ करोड बैंक खातामार्फत भुक्तानी भईसकेको र पुष २९ सम्मको भुक्तानी तालिका दुई–चार दिनभित्र प्रकाशन गर्ने तयारी भईरहेको छ । हाल नेपाल सरकारले उखुको मूल्य कायम नगरेको भएपनी गत सालको मुल्यलाई आधार मानेर भुक्तानी गरिरहेको पनि उनले बताए ।

सरकारले पछि तोकेको मूल्य अहिले किसानलाई भुक्तानी गरिएको मूल्यभन्दा धेरैँ हुन आएमा वा फरक परेमा थप रकम किसानको खातामा हालिदिने वरिष्ठ प्रशासकिय अधिकृत नेपालले जानकारी दिए । जिल्लाकै धनकौल स्थित अन्नपूर्ण सुगर मिलले भने गत विगत वर्षकै करोडौं रकम भुक्तानी नगरेको किसानले गुनासो गर्दै आएका छन् । जिल्लाकै बगदह स्थित महालक्ष्मी सुगर मिलले भने किसानहरुको भुक्तानी गरिसकेको जनाएको छ ।

ईन्दुशंकर चिनी उद्योगले भने मुलुकभरका अन्य उद्योगको तुलनामा किसानहरुको भुक्तानी समयमै गर्ने गरेको छ ।