नारायण उप्रेतीको स्मृति दिवस मनाइयो

17
कार्यक्रममा उपस्थित अतिथिहरु ।

सन्जु कर्ण / हरिवन – प्रहरीको बर्बर यातनाबाट २०४९ साल पुस २९ गते ज्यान गुमाएका सर्लाहीको हरिवन गाविसका तत्कालिन अध्यक्ष नारायण उप्रेतीको वुधवार २८ औँ स्मृति दिवस मनाइएको छ ।

नारायण उप्रेती स्मृति प्रतिष्ठानले वुधवार उनले गाविस अध्यक्ष हुँदा पु¥याएको योगदानको स्मरण गर्दै स्मृति दिवस मनाएको हो । त्यस अवसरमा गत वर्षको एसईई परीक्षामा हरिवन नगरपालिकाभित्रका विभिन्न विद्यालयहरुबाट उत्कृष्ट अंक ल्याउने युवराज कडरिया, सुगेश साह, पोरेन्द्र ठाकुर, मोनालिसा श्रेष्ठ र अनुकुमारी लामालाई नगद, प्रमाण पत्र र शैक्षिक सामग्रीबाट सम्मान गरिएको प्रतिष्ठानका महासचिव विदुरकुमार प्याकुरेलले जानकारी दिए ।

यस्तै, स्मृति दिवसकै अवसरमा नारायण उप्रेतीको सोँच र जनताको चाहाना विषयक निवन्ध प्रतियोगिता गरी पहिलो हुने विप्लव पोखरेल, दोस्रो हुने प्रतिकराज राय क्षेत्री र तेस्रो हुने विवेक थापालाई पनि पुरस्कृत गरिएको छ । .

प्रतिष्ठानका अध्यक्ष राजकुमार उप्रेतीको अध्यक्षता एवं प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल, दिवंगत नारायण उप्रेतीकी आमा टीकालक्ष्मी उप्रेती लगायतको उपस्थिति थियो ।