उपप्रधानमन्त्री पोखरेलले भने, ‘सूर्य चिन्ह हाम्रै हो’

9
नेकपा ओली समूहले मंगलबार सदरमुकाम मलंगवामा आयोजना गरेको बृहद् कार्यकर्ता भेलामा उपस्थित नेता कार्यकर्ता । (तस्बिर : उज्यालो अभियान)
नेकपा ओली समूहले मंगलबार सदरमुकाम मलंगवामा आयोजना गरेको बृहद् कार्यकर्ता भेलामा उपस्थित नेता कार्यकर्ता एवं सर्बसाधारणहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सूर्य चिन्ह आफूहरुले नै पाउने दाबी गरेका छन् ।

मंगलबार दिउँसो नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री ओली समूहद्वारा सदरमुकाम मलंगवामा आयोजित बृहद् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सूर्य चिन्ह आफ्नो समूहले पाउने दाबी गरेका हुन् । ‘प्रधानमन्त्री ओली नेतृत्वको नेकपा नै वास्तविक नेकपा हो’, पोखरेलले भने, ‘त्यसैले सूर्य चिन्ह हाम्रै हुन्छ, यो कुरामा तपाईंहरु ढुक्क हुनोस् ।’

जनताको भोटले जितेको प्रधानमन्त्रीले जनताकै अदालतमा जान्छु र जनताको फैसला मान्छु भन्नु लोकतन्त्रको सुन्दर पक्ष भएको उपप्रधानमन्त्री पोखरेलको जिकिर थियो । ‘जनताको भोटले जितेको प्रधानमन्त्रीले जनताकै अदालतमा जान्छु र जनताकै फैसला मान्छु भन्नु पनि लोकतन्त्र विरोधी हुन्छ ?’ विरोधी समुहलाई प्रतिप्रश्न गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘ताजा जनादेशमा जान्छु भन्नु संघीयता, लोकतन्त्र अनि संविधान विरोधी हुन्छ ?’ बरु जनादेशबाट भाग्न खोज्नेहरु भने लोकतन्त्र विरोधी रहेको पोखरेलले आरोप लगाए ।

मंगलबार दिउँसो सदरमुकाम मलंगवा जाने क्रममा गैर बजारमा उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको नेकपा ओली समूहका नेताहरु एवं मन्त्रीहरु सबार सबारी साधनको लस्कर । (तस्बिर : उज्यालो अभियान)

यो पनि पढ्नोस्

नेकपाकै जिल्ला इन्चार्ज, अध्यक्ष लगायतले देखाए उपप्रधामन्त्री पोखरेललाई कालो झण्डा

नेकपा विवाद : सर्लाहीमा पहिलो पटक गुटगत कार्बाही सूरु

उपप्रधानमन्त्री पोखरेलले २०७८ बैशाख १७ र २७ गते नै प्रतिनिधिसभाको निर्वाचन हुने ठोकुवा समेत गरे । ‘तपाईंहरु ढुक्क हुनोस्, सरकारले तोकेकै मितिमा निर्वाचन गराउँछ’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘निर्वाचन आयोगले तयारी सूरु गरिसकेको छ, चार वटै सुरक्षा निकायले पनि आवश्यक तयारी सूरु गरिसकेका छन् ।’ उनले संसद् विघटनको मुद्धामा सर्बोच्च अदालतको फैसला के फैसला गर्छ भनेर निर्वाचन आयोग लगायत सुरक्षा निकाय अलमलमा नरहेको समेत दाबी गरे । ‘सर्बोच्च अदालतले के फैसला गर्ला र अनि त्यस अनुसार तयारी गरौंला भनेर निर्वाचन आयोग पर्खेर बसेको छैन, उसले तयारी सूरु गरिसकेको छ’, उनले दाबी गरे, ‘त्यसैले तपाईंहरु सबैजना ढुक्क भएर निर्वाचनका लागि तयारी भए हुन्छ ।’

हरिवनमा एकैदिन नेकपा दुई गुटको भेला, कार्यकर्ता तानातानमा प्रतिष्पर्धा

प्रधानमन्त्री ओली विरुद्द नेकपा सर्लाहीकाे वृहद् विराेध प्रदर्शन

दुईजना मन्त्री एवं आधा दर्जन बढी केन्द्रीय नेताहरु सहित सदरमुकाम मलंगवा पुगेका उपप्रधानमन्त्री पोखरेलले मैथली भाषामा आधाघण्टा जती भाषण गरे । उनले २०७६ चैतदेखि बन्द भारतीय सीमानाका खोल्न पहल गर्ने प्रतिबद्धता समेत जनाए । भारतीय सीमानाका बन्द हुँदा आईपरेको समस्याका बारेमा आफू जानकार रहेको उल्लेख गर्दै निकट भविष्यमै सर्लाहीको सीमानाका खोल्न आवश्यक प्रकृया अगाडी बढाईने उनको प्रतिबद्धता थियो ।

समय अभावका कारण उपप्रधानमन्त्री पोखरेलले अन्य नेताहरु भन्दा पहिला नै सम्बोधन गरेर कार्यक्रम स्थलबाट बाहिरिएका थिए । बाराबाट सोमबार साँझै सर्लाही आईपुगेका उपप्रधानमन्त्री पोखरेल सम्बोधन लगतै पूर्वतर्फ लागेका छन् । मंगलबार साँझ विराटनगरमा बास बस्ने उपप्रधानमन्त्री पोखरेल बुधबार झापाको कार्यक्रममा सहभागि हुने विद्यार्थी नेता श्रीकृष्ण उप्रेतीले जानकारी दिए ।

नेकपा ओली समूहका केन्द्रीय सदस्य राजनारायण साहको अध्यक्षता एवं नेता नागेश्वर साहको सञ्चालन रहेको बृहद् कार्यकर्ता भेलालाई प्रदेश दुई ईन्चार्ज सत्यनारायण मण्डल, शहरी विकास मन्त्री एवं प्रदेश दुई अध्यक्ष प्रभु साह, पूर्व मन्त्री रघुविर महासेठ, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, प्रदेश दुई सचिव सुमन प्याकुरेल, ओली समूहका केन्द्रीय सदस्य हरि उप्रेती, ४ नम्बर क्षेत्रका नेता शिवपुजन राय लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा राजकुमार यादवले स्वागत मन्तव्य राखेका थिए ।

धेरै समयपछि राजनैतिक कार्यक्रममा आयोजकले उल्लेख्य नेता कार्यकर्ता सदरमुकाम मलंगवामा झारेको थियो । जिल्ला समन्वय समितिको तीन विघे मैदानमा आयोजित कार्यक्रममा हजारौंको संख्यामा नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । दर्जनौं बस, जीप, म्याजिक तथा सयौं मोटरसाईकलमा नेता कार्यकर्ता मलंगवा गएका थिए । विशेषगरी शिवपुजन रायले ४ नम्बर क्षेत्रबाट उल्लेख्य संख्यामा सर्बसाधारण ल्याएको एक नेताले जानकारी दिए । पूर्व–पश्चिम राजमार्ग क्षेत्र अन्तर्गत हरिवनबाट पनि यसअघि नखुलेका निकै नेता कार्यकर्ताहरु कार्यक्रममा पुगेका थिए । कार्यक्रममै दर्जनौंलाई नेकपामा प्रवेश गराईएको हरिवन नगरपालिकाका मेयर समेत रहेका नेकपा ओली समूहका केन्द्रीय सदस्य गणेश प्रसाईंले जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेल सदरमुकाम मलंगवा जाँदा सरकारी तथा निजी जीप एवं मोटरसाईकलको निकै लामो लावालस्कर थियो । सवारी साधनहरुको ‘काफिला’ नै देखिन्थ्यो । जिल्ला स्थित सुरक्षा निकायले उपप्रधानमन्त्री पोखरेल सहित मन्त्रीहरुको सुरक्षाका लागि सुरक्षा व्यवस्था निकै कडा पारेको थियो ।

यसअघि मंगलबार बिहानै बागमती नपाको आदर्श चोक स्थित सीता प्यालेस होटलमा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले पार्टी एकता पछि अलग अलग धारलाई मिलाउनु पर्ने अनि अलग अलग मनोबैज्ञानिकलाई मिलाउनु पर्नेमा नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले २४ घण्टा नबित्दै एकता विरुद्ध गतिबिधि गर्न थालेको पोखरेलले आरोप लगाए । ‘प्रचण्डजी तरंगित भईरहने, अवसरको खोजीमा लागिरहने र अन्तरविरोधमा खेल्ने जस्ता काममा सकृय भईरहनु भो’, पोखरेलले भने, ‘महाधिवेशनसम्म सहमतिय प्रणाली अनुसार अगाडी बढ्नु पर्नेमा मतामतको खेल सूरु गरियो, पूर्व एमालेको समूहभित्र खेलेर प्रचण्डले बहुमत अल्पमतको खेल सूरु गर्नुभयो, प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई पार्टी र सरकारमा लगातार घेराबन्दीमा पारियो ।’

सरकारलाई काम नै गर्न नदिएपछि ६४ प्रतिशत सांसद्का नेता प्रधानमन्त्रीले ताजा जनादेशका लागि संसद् विघटन गरेको पोखरेलको दाबी छ । पार्टीको नेतृत्व चयनका लागि महाधिवेशनबाट भाग्ने अनि ताजा जनादेशका लागि निर्वाचनबाट पनि भाग्नेहरुले ‘हाँमी यहाँ छौं’ भन्दै विरोध गर्नु हाँस्यास्पद् भएको पोखरेलले व्यंग्य गरे ।

लामो समय पूर्व नेकपा एमालेमा नेतृत्व गरेका वरिष्ठ नेता माधव नेपालले आफ्नै सहकर्मी प्रधानमन्त्री ओलीलाई एक कार्यकाल पनि नेतृत्वमा सहन नसकेको पोखरेलको आरोप थियो । कानूनी रुपमा नेकपा एउटै रहेको र कुनै एउटा समूह बाहिरिएको समेत उपप्रधानमन्त्री पोखरेलको दाबी थियो । ‘नेकपा एउटै छ, कुनै एउटा समूह बाहिरिएको मात्र हो’, पोखरेलले भने, ‘नेकपाका आधिकारिक अध्यक्ष प्रधानमन्त्री ओली नै हुन् ।’