बागमती सहकारीको दोस्रो साधारण सभा सम्पन्न

7
साधारण सभाको उद्घाटन गर्दै मेयर भरत कुमार थापा । (तस्बिर : उज्यालो अभियान)

बागमती – सर्लाहीको बागमती नगरपालिकामा रहेको बागमती बचत तथा ऋण सहकारी संस्थाले आफ्नो दोस्रो बार्षिक साधारण सभा संम्पन्न गरेको छ ।

मंगलवार संस्थाको प्रांगणमा आयोजित सभाको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गरे । संस्थाले बागमती नगरपालिकाको १२ वटा वडालाई आधार बनाएर मिलनचोक, शंकरपुर, सोल्टी र राजघाटमा गरी चार स्थानमा सेवा कार्यालय समेत संचालनमा ल्याएको छ । बागमती–११, कर्मौयामा मुख्य कार्यालय रहेको यस सहकारीले स्थापनाको दोस्रो बर्ष सम्म आईपुग्दा झण्डै १० हजार शेयर सदस्य बनाई सकेको जनाएको छ । नगरको समग्र विकास र यहाँका नागरिकको आर्थिक एवं सामाजिक समृद्धिको योजना बनाएर यस संस्थको परिकल्पना गरिएको संस्थाका अध्यक्ष बाशु खड्काले बताए ।

संस्थाका अध्यक्ष खड्काको अध्यक्षतामा सम्मपन्न सभामा नगरका मेयर थापाको प्रमुख आतिथ्यता, जिल्ला बचत सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे विशिष्ठ अतिथी, नेपाली कांग्रेस बागमती नगर सभापती दिपक कुमार रानाभाट, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ शाखा हरिवनका प्रमुख राजेन्द्र ढकाल, राष्ट्रिय सहकारी बैँक हरिवनका शाखा प्रमुख सरोज सापकोटा, बागमती नगरपालिका–३ का वडाध्यक्ष तिलक मोक्तान, ७ का वडाध्यक्ष दुर्गा बहादुर हेन्जन, बागमती–८ का वडाध्यक्ष मान बहादुर तामाङ, बागमती–९ वडाध्यक्ष रामबाबु दास, बागमती–१० का वडाध्यक्ष जुगैर शेष, बागमती–१२ का वडाध्यक्ष ओम बहादुर श्रेष्ठ, पशुपती सामुदायिक वन उपभोक्ता समिती अध्यक्ष बद्री खड्का लगायतको आतिथ्यता रहेको थियो ।

संस्थाले आर्थिक बर्ष २०७६/०७७ मा १० करोड ९६ हजार ८ सय २१ रुपैया बराबरको कारोवार गरेको लेखा परिक्षण प्रतिबेदन सभा समक्ष प्रस्तुत गरेको थियो । अधिकांश वक्ताहरुले संस्थाले गरेको प्रगतीको प्रसंसा गरेका थिए । संस्थाले कोरोना कालमा समेत सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर घर घरमा सेवा पुर्याएको भन्दै शेयर सदस्यहरुले उक्त कार्यको स्वागत गरेका थिए । यस सहकारी संस्थाले बागमती नगरपालिका अन्तर्गत राज्यबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आईरहेको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले संस्था सम्पुर्ण नगरबासिको सम्पति भएकाले यसको संरक्षणमा सबैले मिलेर अगाडि बढनु पर्ने बताए । संस्थाको विषयमा विभिन्न समयमा आएका भ्रामक विषयमा प्रष्ट भएर मात्र शेयर खरिद र बचत तथा ऋणको कारोबार गर्न समेत मेयर थापाले सबैमा आग्रह गरे । संस्था स्थापना हुनु भन्दा पनि समाज प्रति कत्ति उत्तरदायी छ, भन्ने कुराले अर्थ राख्ने भएको हुँदा त्यस तर्फ ध्यान दिन समेत वक्ताहरुले जोड दिएका थिए ।