निर्वाचन आयोगले सर्बोच्चको फैसला नकुर्ने भन्दै उपप्रधानमन्त्री पोखरेलको ठोकुवा-‘तोकिएकै मितिमा निर्वाचन हुन्छ’

12
पत्रकार सम्मेलनमा उपस्थित उपप्रधानमन्त्री पोखरेल र नेकपा नेता सत्यनारायण मण्डल । (तस्बिर : उज्यालो अभियान)

बागमती – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएकै मितिमा निर्वाचन हुने ठोकुवा गरेका छन् ।

मंगलबार बागमती नपाको आदर्श चोक स्थित सीता प्यालेस होटलमा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले २०७८ बैशाख १७ र २७ गते नै प्रतिनिधिसभाको निर्वाचन हुने ठोकुवा गरेका हुन् । ‘तपाईंहरु ढुक्क हुनोस्, सरकारले तोकेकै मितिमा निर्वाचन गराउँछ’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘निर्वाचन आयोगले तयारी सूरु गरिसकेको छ, चार वटै सुरक्षा निकायले पनि आवश्यक तयारी सूरु गरिसकेका छन् ।’ उनले संसद् विघटनको मुद्धामा सर्बोच्च अदालतको फैसला के फैसला गर्छ भनेर निर्वाचन आयोग लगायत सुरक्षा निकाय अलमलमा नरहेको समेत दाबी गरे ।

‘सर्बोच्च अदालतले के फैसला गर्ला र अनि त्यस अनुसार तयारी गरौंला भनेर निर्वाचन आयोग पर्खेर बसेको छैन, उसले तयारी सूरु गरिसकेको छ’, उनले दाबी गरे, ‘त्यसैले तपाईंहरु सबैजना ढुक्क भएर निर्वाचनका लागि तयारी भए हुन्छ ।’

पार्टी एकता पछि अलग अलग धारलाई मिलाउनु पर्ने अनि अलग अलग मनोबैज्ञानिकलाई मिलाउनु पर्नेमा नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) २४ घण्टा नबित्दै एकता विरुद्ध गतिबिधि गर्न थालेको पोखरेलले आरोप लगाए । ‘प्रचण्डजी तरंगित भईरहने, अवसरको खोजीमा लागिरहने र अन्तरविरोधमा खेल्ने जस्ता काममा सकृय भईरहनु भो’, पोखरेलले भने, ‘महाधिवेशनसम्म सहमतिय प्रणाली अनुसार अगाडी बढ्नु पर्नेमा मतामतको खेल सूरु गरियो, पूर्व एमालेको समूहभित्र खेलेर प्रचण्डले बहुमत अल्पमतको खेल सूरु गर्नुभयो, प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई पार्टी र सरकारमा लगातार घेराबन्दीमा पारियो ।’

सरकारलाई काम नै गर्न नदिएपछि ६४ प्रतिशत सांसद्का नेता प्रधानमन्त्रीले ताजा जनादेशका लागि संसद् विघटन गरेको पोखरेलको दाबी छ । पार्टीको नेतृत्व चयनका लागि महाधिवेशनबाट भाग्ने अनि ताजा जनादेशका लागि निर्वाचनबाट पनि भाग्नेहरुले ‘हाँमी यहाँ छौं’ भन्दै विरोध गर्नु हाँस्यास्पद् भएको पोखरेलले व्यंग्य गरे ।

लामो समय पूर्व नेकपा एमालेमा नेतृत्व गरेका वरिष्ठ नेता माधव नेपालले आफ्नै सहकर्मी प्रधानमन्त्री ओलीलाई एक कार्यकाल पनि नेतृत्वमा सहन नसकेको पोखरेलका आरोप थियो । कानूनी रुपमा नेकपा एउटै रहेको र कुनै एउटा समूह बाहिरिएको समेत उपप्रधानमन्त्री पोखरेलको दाबी थियो । ‘नेकपा एउटै छ, कुनै एउटा समूह बाहिरिएको मात्र हो’, पोखरेलले भने, ‘नेकपाका आधिकारिक अध्यक्ष प्रधानमन्त्री ओली नै हुन् ।’

सोमबार साँझ सर्लाही आईपुगेका उपप्रधानमन्त्री पोखरेल अहिले दिउँसो सदरमुकाम मलंगवा स्थित अगूवा कार्यकर्ता भेलामा प्रमुख अतिथिको रुपमा सहभागि छन् । कार्यक्रमलाई शहरी विकास मन्त्री प्रभु साह, कानून मन्त्री लिला श्रेष्ठ, नेताहरु रघुविर महासेठ, सत्यनारायण मण्डल लगायतले सम्बोधन गर्दैछन् ।