सर्लाहीमा आज पनि बाक्लो हुस्सु र चिसो हावा, जनजीवन प्रभावित

4
फाइल तस्बीर ।

मलंगवा – सर्लाहीमा आज (सोमवार) पनि बिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा चलिरहेको छ । जसले गर्दा स्थानीय वासिन्दाले अत्यधिक चिसो महसुस गरिरहेका छन् ।

यो चिसोले न्यानो कपडा नभएका अतिविपन्न, गरिब र बनिबुतो एवं मजदुरी गरेर खाने पिछडिएको दलित परिवार लगलग कामिरहेका छन् । सर्लाहीमा ग्रामीण भेगका थुपै्र परिवार चिसोबाट अत्यन्त प्रभावित भई आगो बालेर तापिरहेको देखिन्छ ।

बिहान–बेलुकाको छाक टार्नै धउधउ पर्ने धेरै परिवारसँग चिसो छल्न आगो बालेर ताप्नु बाहेक अन्य विकल्प पनि छैन् । दक्षिणी भेगका गाउँ–गाउँमा स्थानीयहरु आ–आफ्नो घर तथा चौक–चौतारामा आगो बालेर तापिरहेका छन् । किसान र मजदुर पनि यो चिसोमा प्रभावित भइरहेका छन् ।

यस क्षेत्रमा केही दिनदेखि दिउँसोपख पारिलो घाम लाग्न छाडेर मौसम धुम्मिनुका साथै बिहान–बेलुका र रातको समयमा चिसो हावा तथा बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित बनेको हो । चिकित्सकले अहिलेको धूलोको प्रदुषण र कठ्यांग्रिदो चिसोले स्वास्थ्य समस्या गढ्ने भएकाले असाध्य ख्याल गर्न सुझाव दिइरहेका छन् ।

जिल्ला अस्पताल मलंगवाका डा. अविनाश कुमार सिंहले अहिलेको चिसो शरीरमा प्रवेश गरे छाती, फोक्सो, घाँटी जस्ता संवेदनशील अंगहरुमा गम्भीरखाले असर गर्ने भएकाले सचेत हुन आग्रह गरेका छन् ।