चक्रघट्टा गाउँपालिका अध्यक्षको कार्यशैली निरंकुश : कांग्रेस

पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै कांग्रेस जिल्ला सभापति नागेन्द्र कुमार राय । (तबिर : उज्यालो अभियान)

चक्रघट्टा – नेपाली कांग्रेस सर्लाहीले जिल्लाको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादव निरकुंश शैलीमा प्रस्तुत भइरहेको आरोप लगाएको छ ।

चक्रघट्टामा आईतवार आफ्ना बयोवृद्ध कार्यकर्ता सोही गाउँपालिकाको वडा नं. –६, गोहियाहीका ७० वर्षीय रामजिनिस साह कुटिएपछि कांग्रेसले सोमवार चक्रघट्टामै पत्रकार सम्मेलन गरी घटनाको कडा रुपमा विरोध जनाएको हो । रामजिनिसलाई गाउँपालिका अध्यक्ष यादवले अत्यन्त घृणित शब्दले गालीबेईज्जती गर्दै आफू र मान्छे समेत लगाएर कुटाएको कांग्रेस नेताहरुले बताएका छन् ।

बजारमा रहेका अन्य पसल व्यवसाय नहटाई कांग्रेस कार्यकर्ता भएकै कारण रामजिनिसको लेथ पसल मात्रै हटाउन बारम्बार धम्की दिएको र त्यही पसल नहटाएको निहुँमा निर्घात कुटपीट गरिएको दावी कांग्रेस नेताहरुको छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका तर्फबाट चक्रघट्टा गाउँपालिकाको अध्यक्षका प्रत्यासी रामजी साहले गाउँपालिका अध्यक्ष यादवले पटक–पटक कांग्रेस कार्यकर्तामाथि यसैगरी आक्रमण र गालीबेईज्जती गर्दै आइरहेको आरोप लगाए । उनले बारम्बार सूचना माग्न जाँदा गाउँपालिका अध्यक्षबाट थर्काउने, धम्काउने, गाली गर्ने जस्ता काम गरेर कानुनी राज्य नै नरहेको जस्तो व्यवहार गरिएको पत्रकार सम्मेलनमा बताए ।

यस्तै, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सांसद जंगिलाल रायले कांग्रेसका कार्यकर्तालाई कमजोर सोचेर यसैगरी आक्रमण गरे अब कडा रुपमा प्रतिकार गर्ने चेतावनी दिए । कांग्रेस कुनै पनि हालतमा ज्यादती सहेर नबस्ने रायको भनाई थियो ।

यसैगरी, कांग्रेस जिल्ला सभापति एवं निवर्तमान संघीय सांसद नागेन्द्र कुमार रायले गाउँपालिका अध्यक्षले भने झैँ आईतवार झडपमा कसैले पनि कागजात खोसेर नलगेको बताए । गाउँपालिका अध्यक्षले धेरै अनियमितता र भ्रष्टाचार गरेकाले त्यसैलाई लुकाउन कागजात गायब पारियो भनेर झुठो हल्ला फिँचाएको कांग्रेस सभापति रायको भनाई छ ।

आईतवार झडप हुँदा पनि गाउँपालिका अध्यक्ष विक्रम यादवकै पक्षका मानिसले गाडीमा ढुंगामुढा गरेको रायको दावी छ । पत्रकार सम्मेलनमा कांग्रेस नेताहरु एवं प्रदेश सभा सदस्य द्वोय उपेन्द्र कुशवाहा र वीरेन्द्र कुमार सिंह, पूर्व सांसद हरेश महतो, नेताहरु विनोद खनाल, कृष्णदेव राय, क्षेत्रीय सभापति पुण्यप्रसाद घिमिरे लगायतको उपस्थिति थियो ।

चक्रघट्टामा आईतवार गाउँपालिका अध्यक्ष यादव पक्ष र कांग्रेस का कार्यकर्ताबीच झडप हुँदा गाउँपालिकाका अध्यक्षले चढ्ने गाडी तथा कार्यालयमा तोडफोड भएको थियो । सो घटनापछि गाउँपालिकाको कामकाज प्रभावित बनेको छ ।

गाउँपालिका अध्यक्ष यादवले भने आफू र कार्यालयमाथि सांघेतिक आक्रमण गरिएको बताईरहेका छन् । उनले शान्ति सुरक्षाको व्यवस्था नहुन्जेल कार्यालयमा नफर्किने समेत बताए । सोमवार पत्रकार सम्मेलन गरी कांग्रेस नेताहरुले लगाएको आरोपका बारेमा जिज्ञाशा राख्दा उनले आफूले कुनै ज्यादती र कसैमाथि कुटपीट नगरेको दावी गरे ।