प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र : ‘पश्चातापका साथ क्षमायाचना गर्नुपर्छ’

प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउँदै नेकपा प्रचण्ड–नेपाल–खनाल समूहका नेताहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – प्रतिनिधि सभाको संसद् सूचारु गर्न माग गर्दै ७७ वटै जिल्लामा झैँ सर्लाहीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल–खनाल समूहले सुक्रवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

सो समूहका नेताहरुले सुक्रवार मध्यान्ह जिल्ला प्रशासन कार्यालय मलंगवा, सर्लाहीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाउँदै प्रतिनिधि सभा सूचारु गरी संविधानलाई क्रियाशील बनाउन माग गरेका हुन् । संविधानको ठाडो उल्लंघन गरी असंवैधानिक, अलोकतान्त्रिक एवं स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीको सो कदमलाई प्रतिगामी भन्दै प्रचण्ड–नेपाल–खनाल समूहले आफ्नो असंवैधानिक कदमका निम्ती पश्चातापका साथ राष्ट्रका सामु क्षमायाचना गरी प्रतिनिधि सभा सूचारु गर्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझाउन पूर्वमन्त्री एवं पार्टीका नेता रामेश्वर राय यादव, जिल्ला इन्चार्ज डाचाराज वाग्ले, जिल्ला अध्यक्ष रेवती पन्त, प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रती र बेची लुंगेली, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुर, बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो लगायत प्रचण्ड–नेपाल–खनाल समूहका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नरहेको भन्दै, सो कदमको विरुद्धमा प्रचण्ड–नेपाल–खनाल समूहले अहिले सर्लाहीसहित देशभर नै प्रदर्शन गर्दै आइरहेको छ । यो समूहले सुक्रवार नै ईश्वरपुरस्थित बयलवासमा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।