जसपाको सर्लाहीका गाउँ–गाउँमा जनजागरण अभियान

8
कविलासी नगरपालिका ८ अगर्वामा आयोजित जसपाको कार्यकर्ता भेला ।

ब्रम्हपुरी, – जनता समाजवादी पार्टी (जसपा) ले सर्लाहीमा जनजागरण कार्यक्रम सुरु गरेको छ ।

संसद् विघटनको विपक्षमा रहेको जसपाले आन्दोलनका थप कार्यक्रमहरुमा आफ्ना कार्यकर्ता व्यापक मात्रामा जुटाउने उद्देश्यसहित गाउँ–गाउँमा जनजागरण कार्यक्रम अघि बढाएको हो । सोहीक्रममा बिहिवार ब्रम्हपुरी गाउँपालिका ५ पडरीया, कविलासी नगरपालिका ८ अगर्वा र ईश्वरपुर नगरपालिका अन्तर्गत साबिक गौरीशंकर क्षेत्रमा कार्यकर्ता भेला गरिएको जसपा सर्लाहीका अध्यक्ष वीरेन्द्र कुमार रायले जानकारी दिए ।

जनजागरण अभियानका लागि पार्टीबाट निर्वाचित जिल्लाका सांसद, पालिका प्रमुख र अन्य नेताहरु आ–आफ्नो क्षेत्रमा खटिएका छन् । जसपाले समयावधी बाँकी छँदै संघीय संसद् विघटन गरिएको विरुद्धमा यसअघि जुलुस निकाल्ने, प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लादहन गर्ने जस्ता विरोध प्रदर्शनको कार्यक्रमहरु गरिसकेको छ ।

अब दोस्रो चरणमा केन्द्रिय नेताहरु जिल्ला–जिल्लामा खटिएर जनप्रदर्शन गर्ने तयारी भइरहेको जसपाका जिल्ला अध्यक्ष रायले जानकारी बताए । सर्लाहीमा अहिले सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल–खनाल समूह नेताहरु पनि संघर्षकै लागि कार्यकर्ता भेला गर्दै हिँडिरहेका छन् भने ओली समूहका नेताहरु संसद् विघटनको पक्षमा उभिएर अघि बढेका छन् ।

नेकपाको प्रचण्ड–नेपाल–खनाल समूहका विद्यार्थी नेताहरुले गएसाँझ ईश्वरपुरमा प्रधानमन्त्री ओलीको पुत्लादहन गरेका थिए ।