हरिवनमा एकैदिन नेकपा दुई गुटको भेला, कार्यकर्ता तानातानमा प्रतिष्पर्धा

6

हरिवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीको दुवै गुटले मंगलबार हरिवनमा छुट्टाछुट्टै भेला गरेको छ । नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र दोस्रो अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समूहले भेला मार्फत जन परिचालन समिति समेत गठन गरेका छन् ।

हरिवन नगरपालिका वडा नम्बर ८ को कार्यालय परिसरमा भएको ओली समुहको भेलाले पुस २८ गते सदरमुकाम मलंगवामा गर्न लागेको वृहत भेलाको तयारीका लागि हरिवन नगर स्तरीय जनपरिचालन कमिटी गठन गरेको छ । नेकपा नेता एवं हरिवन नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष सीताराम पोखरेलको नेतृत्व तथा प्रज्वल ढुंगाना सचिब रहेको ३३ सदस्यिय जन परिचालन कमिटी गठन गरिएको हो । ओली समूहले पुस २८ गते सदरमुकाम मलंगवामा पूर्व मन्त्री एवं नेकपाका युवा नेता महेश बस्नेतको प्रमुख आतिथ्यतामा मोटरसाईकल ¥याली सहित वृहद् भेला आयोजना गर्ने बताईएको छ ।

याे पनि पढ्नाेस्

सर्लाहीमा नेकपाका स्थानीय तह प्रमुखहरु कुुुन-कुन खेमामा ?

किसान नेता समेत रहेका राजकुमार उप्रेतीको अध्यक्षता तथा केन्द्रीय सदस्य राजनारायण साहको प्रमुख आतिथ्यतामा भेला सम्पन्न गरिएको चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस स्ववियु सभापति प्रज्वल ढुंगानाले जानकारी दिए । कार्यक्रमका सञ्चालक समेत रहेका ढुंगानाका अनुसार भेलामा केन्द्रीय सदस्यहरु हरि उप्रेती, हरिवन नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य गणेश प्रसाईं, कल्पना कटुवाल, प्रदेश कमिटी सदस्यहरु राजकुमार यादव, तारा पोखरेल, नागेश्वर साह, बलरा नपामा तत्कालिन नेकपा एमालेबाट मेयरका प्रत्यासी उमेश सिंह लगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री ओली विरुद्द नेकपा सर्लाहीकाे वृहद् विराेध प्रदर्शन

केही दिनअघिसम्म प्रचण्ड–नेपाल–खनाल समूहमा सकृय पूर्व माओवादीका जिल्ला सचिव राजकुमार यादव मंगलबार ओली गुटको कार्यक्रममा सहभागि भए । उनले प्रचण्ड, नेपाल र खनालमा विचार र सिद्धान्त भन्दापनि पदलोलुपता प्रवृत्ति देखिएकाले आफू राष्ट्रवादी नेता ओली पक्षमा लागेको जानकारी दिए । ‘यसअघि नेकपा एमाले र माओवादीबीचको एकता पनि विचार र सिद्धान्तका आधारमा भएकै थिएन’, कार्यक्रममा बोल्दै यादवले भने, ‘अहिले देखिएको फूट पनि विचार र सिद्धान्त भन्दापनि पद कसरी हत्याउने भन्ने प्रवृत्ति नै हाबी देखियो, त्यसैले म मुलुक र जनताका लागि मरिमेट्ने राष्ट्रवादी नेता प्रधानमन्त्री केपी ओली गुटमा लागेको छु ।’

प्रज्वल ढुंगानाको सञ्चालन रहेको कार्यक्रममा हरिवन नगरपालिका वडा नं. ६ का वडाध्यक्ष प्रल्हाद बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी घेराबन्दी गरेर मुलुकलाई अगाडी नै बढाउन नदिएका कारण आजको अवस्था आईपरेको र यो अवस्था आउनुमा पार्टीका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, खनाल लगायत मुख्य दोषि रहेको आरोप लगाए । कार्यक्रममा हरिवन नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेल, ९ का वडाध्यक्ष सिताराम पोखरेल, १० का वडाध्यक्ष शम्भु मैनाली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा दर्जनौं नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । प्रचण्ड-नेपाल गुटले मंगलबार नै हरिवनमा भेला राखेपछि ओली गुटले कतिपय कार्यकर्ताहरु उता जालान भन्ने त्रासमा हतार-हतार मंगलबार बिहानबाट तयारी गरेर दिउँसाे कार्यक्रम गरेकाे एक नेताले बताए ।

सर्लाहीको नेकपा पार्टी कार्यालय सुरक्षाकर्मीको ‘कब्जा’मा !

त्यस्तै प्रचण्ड–नेपाल–खनाल समूहले पनि मंगलबार नै हरिवन बजार स्थित नेवा सेवा समाजको सभाहलमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । नेकपा नेता अर्जुन पन्तको सञ्चालन रहेको भेला नेकपा नेता विदुर प्याकुरेलको अध्यक्षतामा भएको थियो ।
नेकपा केन्द्रीय सदस्य एवं प्रदेश दुई ईन्चार्ज नागेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामेश्वर राय, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज डाचाराज वाग्ले, केन्द्रिय सदस्य अच्युतम काफ्ले, जिल्ला अध्यक्ष रेवती पन्त, जिल्ला सचिव कमल बुढाथोकी, नेताहरु सुरेन्द्र लामा, विदुरकुमार प्याकुरेल, चूडामणि वाग्ले, धनबहादुर मिक्चन लगायत दर्जनौं नेता कार्यकर्ताको उपस्थिति थियो ।

भेलाले नेकपा नेता विदुर कुमार प्याकुरेलको संयोजकत्वमा २०१ सदस्यिय हरिवन नगर स्तरीय संघर्ष समिति गठन गरेको छ । संघर्ष समितिको सह–संयोजकमा उत्तर कुमार मैनाली बमबहादुर लोप्चन र रामचन्द्र कुशवाहा चयन भएका छन् । संयोजक प्याकुरेलका अनुसार भेलाले हरिवनको वडा हुँदै गाउँ तहसम्म संघर्ष समिति गठन गर्ने निर्णय गरेको छ । सोही समूहले मंगलबार नै हरिपुर, गोडैता, चक्रघट्टा र बागमतीमा पनि भेला गरेको जिल्ला सचिव कमल बुढाथोकीले जानकारी दिएका छन् । भेलाबाट विरोध प्रदर्शनका लागि प्रत्येक पालिकाहरुमा संघर्ष समिति पनि गठन गर्ने काम भइरहेको बुढाथोकीले जानकारी दिए । प्रचण्ड–नेपाल–खनाल समूहले भने प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्षले गरेको संसद् विघटन गैर संवैधानिक भएको भन्दै संघर्षमा होमिन नेता कार्यकर्तालाई आव्हान समेत गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय सदस्य एवं प्रदेश दुई सह ईन्चार्ज चौधरी सहित वक्ताहरुले प्रधानमन्त्री ओलीको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले गरेको संसद् विघटन असंवैधानिक भएकाले त्यस विरुद्ध वृहद् ढंगले विरोध प्रदर्शन गर्नुपर्ने धारणा व्यक्त गरे ।

तत्कालिन नेकपा एमालेमा आवद्द अधिकांश संगठित सदस्य पार्टीकाे आधिकारिकता एवं सूर्य चिन्ह कसकाे पक्षमा जाने हाे भन्ने अन्याैलका कारण पर्ख र हेरकाे अवस्थामा रहेकाले त्यस्ता नेता कार्यकर्तालाई अहिले नै आफ्नाे पक्षमा तान्न दुवै गुट लागि परेका छन् । दुवै गुटका नेताहरुले कार्यकर्ताहरु आफ्नाे पक्षमा तान्न संगिन आराेप प्रत्याराेप सहित गालिगलाैजमै उत्रिरहेका छन् । अघोषित रुपमा पार्टी विभाजन हुँदै गर्दा दुई समूहबीच स्वामित्वको विषयलाई लिएर विवाद हुन नदिन नेकपाको मलंगवास्थित जिल्ला पार्टी कार्यालय भने सुरक्षाकर्मीले आफ्नो कब्जामा लिईसकेको छ ।