सर्लाहीको कविलासीमा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

5

पिपरीया – सर्लाहीको कविलासीमा सोमवार नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

नगरपालिकाको शिक्षा शाखाले बाल गोविन्द जनता माध्यमिक विद्यालय कविलासी नगरपालिका २ पिपरीयामा प्रतियोगिता आयोजना गरेको हो । नगरभित्रका ६ वटा माध्यमिक विद्यालयलाई सहभागी गराई आयोजना गरिएको प्रतियोगितामा जानकी दास जनता मावि कविलासी ४ हेमपुर पहिलो, मावि मदनपुर कविलासी ३ दोस्रो र गैरको जनता मावि कविलासी ७ तेस्रो भएका छन् ।

तीनवटै विद्यालयलाई पुरस्कार स्वरुप प्रथम, द्धितीय र तृतीय शिल्ड प्रदान गरिएको नेपाल शिक्षक संघ प्रदेश २ का उपाध्यक्ष एवं कविलासी आधारभूत विद्यालयका प्रधानाध्यापक भाग्यनारायण मिश्रले जानकारी दिए । पिपरीया माविका प्रधानाध्यापक बद्रिनारायण मिश्रको अध्यक्षता एवं कविलासी नगरपालिकाका मेयर कौशल किशोर राय यादवको प्रमुख आतिथ्यतामा आयोजित प्रतियोगितामा उपमेयर राधादेवी यादव, नगरपालिकाको शिक्षा शाखाका प्रमुख दिनेश लुईटेल, सोही शाखाका रामवचन राय, प्रतियोगिताका संयोजक सुरेश राय, सदस्यहरु यशोदा यादव र रामशरण राय, सबै विद्यालयका प्रअ लगायतको उपस्थिति थियो ।

नगरपालिकामा यसअघि यस्ता कार्यक्रमहरु बिरलै हुने गरेको भएपनि आफूहरु नयाँ कर्मचारी आएपछि विद्यार्थीहरुको भव्य उपस्थितिमा पहिलो पटक कार्यक्रम गरेको शिक्षा शाखा प्रमुख लुईटेलले बताए । कोरोना भाईरसको संक्रमणले गर्दा लामो समयपछि पठनपाठन सूरु भएको अवस्थामा हिजोको प्रतियोगिताले विद्यार्थीमा उल्लास थपेको लुईटेलको भनाई छ ।