सर्लाहीको मौसम आजपनि बिहानैदेखि धुम्मियो, न्यूनतम तापक्रम भने बढ्यो

4
सर्लाहीको मनुषमारास्थित हावापानी मापन केन्द्र । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको मौसम सोमवार पनि बिहानैबाट धुम्मिरहेको छ ।

पानी पर्लाजस्तो भई मौसममा बदली आएको हो । बादल लागेकाले यहाँको न्यूनतम तापक्रम भने सोमवार हृवात्तै बढेको छ ।

अघिल्ला दिनहरुमा बिहानपख जिल्लाको न्यूनतम तापक्रम ७÷८ डिग्री सेल्सियसको हाराहारीमा हुने गरेको भएपनि सोमवार भने सर्लाहीको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको छ ।

यहाँको मौसममा आईतवारबाटै बदली भएको हो । आईतवार पनि दिनभर नै मौसम धुम्मिएर चिसो हावा चलेको थियो ।

उता काठमाडौंमा आज बिहान हल्का पानी परेको छ । बादल लाग्ने र हल्का पानी पर्ने क्रम आगामी बुधबारसम्मै जारी रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।
‘पानी ठूलोचाहिँ पर्दैन तर आज दिनभरि नै काठमाडौंमा मौसम खराब रहन्छ, घाम लाग्ने सम्भावना कमै छ,’ मौसमविद श्रेष्ठले भने ।

हाल पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो भूभागहरूमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणाली पुस २२ गते (बुधबार) देखि कमजोर हुँदै जाने पूर्वानुमान छ ।

मौसमविद श्रेष्ठका अनुसार अनुसार काठमाडौं उपत्यकासहित धेरैजसो पहाडि जिल्लाहरुमा हल्का पानी परेको छ । उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात पनि भएको छ ।

पानी परे पनि काठमाडौं उपत्यकामा अघिल्लो दिनको तुलनामा न्यानो महसुस भएको छ । आज बिहानको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन भएको मौसमविद श्रेष्ठले बताए ।