पुनर्वासमा ४९४ दलित परिवारलाई राहत

4
राहत वितरण गरिँदै ।

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वासमा सोमवार ४९४ दलित परिवारलाई राहत वितरण गरिएको छ ।

चुजी फाउण्डेसनको सहयोग तथा दलित सरोकार मञ्च सप्तरीको समन्वयमा पुनर्वासका दलित समुदायलाई प्रतिपरिवार २५ किलो चामल, १० किलो पिठो, दाल, नुन, चना र तेल एक÷एक किलो तथा चारवटा साबुन वितरण गरिएको हो ।

विश्वव्यापी महामारी कोरोना भाईरसको संक्रमणपछि प्रभावित अतिविपन्न तथा पिछडिएको दलित समुदायलाई यि दुई संस्थाले आपसमा समन्वय गरी यसरी नै राहत वितरण गर्दै आएका छन् । सोही क्रममा आज पुनर्वासका दलित पासवान समुदायलाई मञ्चका कार्यकारी निर्देशक भोला पासवानको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको दलित अधिकारकर्मी राजाराम पासवानले जानकारी दिए ।

एक साताको अन्तरालमा जिल्लाको बरहथवा नगरपालिका–१० मा ४५७ परिवार, हरिपुर नगरपालिका–६ मा २४३ परिवार, रामनगर गाउँपालिकाको खैर्वामा २२५ परिवार र रौतहटको चन्द्रपुर नगरपालिका १ र ७ मा १ हजार ६३८ परिवारलाई यस्तै किसिमको राहत वितरण गरिसकिएको छ ।