कौडेना र बलरामा आगलागी, ६० हजार बराबरको क्षति

10
प्रतिकात्मक तस्बिर

मलंगवा – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको कौडेना गाउँपालिका–५ छपकैयामा आगलागीबाट परालको तीनवटा टाल जलेर नष्ट भएको छ ।

सोमवार बिहान २ बजेतिर भएको आगलागीबाट सोही ठाउँका डम्मर नारायण रायको खेत खरियानमा तीन ठाउँमा राखिएको परालको टाल खरानी भएको हो । परालको टाल नजिकै रहेको पोखरीको पानी विद्युतीय मोटरले सुकाउने क्रममा मोटरको तारबाट अचानक सर्ट भई आगलागी भएको ईलाका प्रहरी कार्यालय कौडेनाले जनाएको छ ।

आगो बिहान सबा ४ बजेतिर निणन्त्रणमा आएको थियो । आगलागीबाट ३० हजार बराबरको क्षति भएको पीडित किसानले बताएका छन् ।

यस्तै, सीमावर्ती क्षेत्रमै पर्ने बलरा नगरपालिका–३ लक्ष्मीपुरमा पनि आईतवार साँझ आगलागी भएको छ । आगलागीबाट स्थानीय पुनदेव माझीको फुसको कच्ची घर जलेर नष्ट हुँदा ३० हजार बराबरकै क्षति भएको सीमा प्रहरी चौकी बलराले जनाएको छ ।
साँझ ७ बजेतिर भएको आगलागीबाट घर जलेर नष्ट भएपछि अतिविपन्न दलित परिवार बिचल्लीमा परेको छ ।