सर्लाहीमा पैदल यात्रुलाई ठक्कर दिएर मन्त्रीको गाडी फरार !

14
स्वाभिमान अस्पतालमा उपचाररत घाईते । (तस्बिर : उज्यालो अभियान)

हरिवन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा एक पैदल यात्रुलाई ठक्कर दिएर मन्त्रीको जीप फरार भएको प्रत्यक्षदर्शीले दावी गरेका छन् ।

प्रत्यक्षदर्शी हरिवनको सुखेपोखरी स्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस स्वयवियु सभापति प्रज्वल ढुंगानाका अनुसार झण्डावाल जीपले ती पैदल यात्रुलाई ठक्कर दिएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले ठक्कर दिने वितिकै आफूहरु दौडेर घाईतेको उद्धारतर्फ लागेको तर जीप भने फरार भएको ढुंगानाले जानकारी दिए ।

जीपको नम्बर ३८४२ मात्र आफूहरुले देखेको ढुंगानाको भनाई छ । ‘अगाडी झण्डा फहराईरहेको थियो, गाडीको पूरै नम्बर हेरेर नोट गर्ने भन्दापनि हाँमीहरु तत्काल घाईतेको उद्धार तर्फ लाग्यौं’, ढुंगानाले उज्यालो अभियानसँग भने, ‘खाली ३८४२ नम्बर जस्तो देखियो, ठक्कर दिने वितिकै जीप रोक्दै नरोकी पूर्व हुँइकियो ।’ जीपले पौने १२ बजे तिर पैदल यात्रुलाई ठक्कर दिएको हो । करिब ३० वर्षीय जस्तो देखिने घाईतेको हरिवन स्थित स्वाभिमान अस्पतालमा उपचार भईरहेको छ ।

ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले आफूले पनि प्रत्यक्षदर्शीहरुको भनाई अनुसार झण्डावाला जीपले ठक्कर दिएको भन्ने सुनेको र खोजतलास गर्ने काम भईरहेको जानकारी दिए । मन्त्रीज्यूको जीप हो कि हैन भन्ने कुरा पत्ता लगाउने प्रयास भईरहेको यादवले बताए ।