लक्ष्मीपुरमा २४३ अतिविपन्न परिवारलाई राहत

हरिपुरस्थित लक्ष्मीपुरका अतिविपन्नलाई बिहिवार राहत बाँडिदै ।

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकास्थित लक्ष्मीपुर कोद्राहमा हिजो (बिहिवार) २४३ परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

चुजी फाउन्डेसनको सहयोग तथा दलित सरोकार मन्च सप्तरीको सहजीकरणमा लक्ष्मीपुरका मुसहर, चमार, तत्मा तथा अन्य विपन्न समाजका मानिसहरुलाई बिहिवार साँझ अबेरसम्म लगाएर राहत वितरण गरिएको बहुजन समाज परिषद् नेपालका राष्ट्रिय प्रभारी राजाराम पासवानले जानकारी दिए । राहतमा प्रतिपरिवारलाई २५ किलो चामल, १० किलो पिठो, दाल, तेल, साबुन लगायतका सामग्री प्रदान गरिएको हो ।

यसअघि वुधवार यस्तै किसिमको राहत सामग्री बरहथवा नगरपालिका १० का अतिविपन्न परिवारलाई वितरण गरिएको थियो । अब लालबन्दी, हरिवन र रामनगरमा पनि राहत बाँड्ने तयारी रहेको दलित अधिकारकर्मी पासवानले बताए ।