हरिवनमा प्रदेशकै ठूलो मानव सेवा आश्रम सञ्चालन, ‘सडक मानव’को उद्धार सूरु

1
नयाँरोड स्थित सञ्चालनमा ल्याईएको आश्रम भवन । (तस्बिर : उज्यालो अभियान)
बुधबार हरिवन नगरपालिकाको नयाँ कार्यालय भवन परिसरमा आयोजित कार्यक्रममा उद्धार गरिएका १० जना । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत नयाँरोड चोकमा प्रदेश नम्बर दुईकै ठूलो मानव सेवा आश्रम सञ्चालनमा आएको छ । आश्रममा अशक्त, बेसहारा, अभिभावक विहिन, मानसिक समस्याका विरामी एवं सडकमा मागेर हिँडने ‘सडक मानव’ लाई राख्न सूरु गरिएको हो ।

हरिवन नगरपालिका–९, नयाँरोड चोक स्थित ज्ञानज्योति विद्यालयको पूरानो भवनलाई आश्रमको रुपमा सञ्चालनमा ल्याईएको आश्रम अभिभावक परिवारका सदस्य एवं हरिवन नगरपालिका वडा नं. ११ का वडा सदस्य सुकदेव कार्कीले जानकारी दिए । कार्कीका अनुसार आश्रममा हालसम्म ६० जनाभन्दा बढीलाई ल्याएर राखिसकिएको छ । बुधबार मात्र हरिवनका १० जनालाई आश्रममा राखिएको छ । गत सोमबार हरिवन नगरपालिका–४, पटौंनाका तीनजना मानसिक समस्या भएकालाई राखिएको थियो । उनबहादुर कार्कीका तीन भाई छोरा मध्ये कान्छो छोरा रुद्रबहादुर कार्कीलाई भने गम्भिर मानसिक समस्या भएका कारण हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंको अगुवाईमा थप उपचारका लागि पाटनको मानसिक अस्पताल पठाईएको छ ।

बुधबार हरिवन नगरपालिकाका विभिन्न स्थानबाट नौं जना र लालबन्दी नगरपालिकाको नवलपुरबाट एक जना गरी १० जनाको उद्धार गरिएको हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेलले जानकारी दिईन् । तीन दिन अघि सप्तरी, सिराहा, धनुषा, महोत्तरी लगायत जिल्लाबाट समेत सडकमा मागेर हिँड्ने ५० जना भन्दा बढीलाई आश्रममा राखिएको छ । अब रौतहटबाट समेत ल्याईने कार्कीले जानकारी दिए ।

पर्सामा पनि आश्रमको सानो भवन भएकाले बारा र पर्साका त्यस्ता व्यक्तिहरुलाई भने पर्सामै राखिने छ । हरिवनको आश्रम भने प्रदेश नं. २ कै नमूना र २०० जनासम्म राख्न सकिने गरी पूर्वाधार विकासको काम भईरहेको कार्कीले जानकारी दिए । कार्कीका अनुसार तत्काल मासिक ४२ हजार रुपैंया भाडा तिर्ने गरी आश्रम सञ्चालनमा ल्याईएको र भविष्यमा हरिवन नगरपालिका–८ स्थित फेदिमा नगरपालिकाले उपलब्ध गराएको १ विगाह जग्गामा आश्रम भवन निर्माण गर्ने तयारी भईरहेको छ । आश्रमको भाडा बापतको रकम तिर्न हरिवन नगरपालिकाले वार्षिक दुई लाख रुपैंया उपलब्ध गराउने भएको छ भने भवन निर्माणका लागि ८ लाख रुपैंया बजेट छुट्याई सकेको कार्कीले जानकारी दिए ।

आश्रमले मुठी दान, मासिक दाता, वार्षिक दाताको रुपमा सहयोग संकलन गरिरहेको छ । हाल संघ, प्रदेश र स्थानीय सरकार तथा नेपालमै रहेका मनकारी दाताबाट आर्थिक सहयोग संकलन गरेर आश्रम सञ्चालनमा ल्याईएको कार्कीले बताए ।

बुधबार दिउँसो हरिवन नगरपालिकाको नयाँ कार्यालय भवन परिसरमा एक कार्यक्रम गरी उद्धार गरिएका १० जनालाई आश्रममा लगिएको थियो । हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेलको अध्यक्षता एवं मानव सेवा आश्रमका राष्ट्रिय संस्थापक अध्यक्ष रामजी अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै अधिकारीले नेपाललाई सडक मानव मुक्त मुलुक बनाउने आश्रमको अभियान रहेको र यस्तो कार्यमा सबै पक्ष, तह र तप्काबाट यथाशक्य सहयोग पाउने विश्वास व्यक्त गरे । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडाल, अतिथिको रुपमा आश्रमका राष्ट्रिय उपाध्यक्ष धर्म पौडेल, पत्रकार भाग्य न्यौपाने, आश्रमकी कोषाध्यक्ष सुशिला केसी, आश्रमका सदस्य नारायण ढुंगाना, कविर आश्रमका कविर पन्थी, उद्धारकर्मीहरु, नेकपा नेता चूडामणि वाग्ले लगायतको आतिथ्यता रहेको थियो ।

आश्रम सञ्चालनका लागि हरिवन नगरपालिकाले तत्काल २० जनाका लागि ओढ्नेओछ्याउने र पकाउने र खाने भाँडाकुँडा, एक–एक जोर न्यानो कपडा, चप्पल, भट्टे चुलो, थाल, कचौरा, गिलाँस लगायत सामग्री सहयोग गरेको उपमेयर पौडेलले जानकारी दिईन् । कार्यक्रममा बोल्दै सडक मानवलाई उद्धार गर्ने जस्तो पुण्यको काममा नगरपालिकाले यथाशक्य सहयोग गर्ने प्रतिबद्धता समेत जनाईन् । साथै मनकारी दाताहरुलाई पनि यो अभियानमा यथाशक्य सहयोग गर्न आग्रह गरिन् ।

पुस ८ गतेदेखि माघ ८ गतेसम्मका लागि मेची–महाकाली राष्ट्रिय उद्धार कार्यक्रम सञ्चालन गरेको मानव सेवा आश्रमले उद्धार गरिएकालाई आफूले सञ्चालन गरेको मुलुकका विभिन्न स्थानमा रहेको आश्रमहरुमा लगेर राख्ने बताईएको छ । कार्कीका अनुसार आश्रममा राखिएकाहरुलाई मानसिक रोग सम्बन्धी विशेषज्ञबाट स्वास्थ्य परीक्षण, परामर्श तथा औषधी समेत चलाईने छ ।