उपलब्धी गुम्ने खतरा बढ्यो : मन्त्री सोनल

11
कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री सोनल । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – प्रदेश नं. २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र कुमार सोनलले देशमा विकसित राजनीतिक घटनाक्रमले प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको बताएका छन् ।

जिल्लाको लालबन्दी नगरपालिका वडा नं. ४ हरिभवनमा वुधवार ज्येष्ठ नागरिक आवास भवनको शिलान्यास गर्दै मन्त्री सोनलले सो कुरा बताएका हुन् । उनले अत्यधिक मेहनत, सयौँ युवाहरुको बलिदान र हजारौँ नेपालीको लगानीले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएकाले कुनै पनि हालतमा यसको रक्षा गर्नुपर्ने बताए ।

यो उपलब्धी गुमे मुलुक गम्भीर संकटमा फस्ने भएकाले यसको रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा मन्त्री सोनलले जोड दिए । जनता समाजवादी पार्टी (जसपा) का नेता समेत रहेका मन्त्री सोनलले केन्द्रमा भइरहेको राजनीतिक घटनाक्रमलाई प्रदेश सरकारले गम्भीरताका साथ हेरिरहेको उल्लेख गर्दै प्रदेश सरकार उपलब्धी रक्षाकै निम्ती उभिने बताए ।

केन्द्र सरकारको लगानीमा बन्न लागेको ज्येष्ठ नागरिक भवनको निर्माण गर्न धुलिखेल निर्माण सेवा प्रालिले भ्याटसहित तीन करोड १६ लाख ३२ हजार ६९६ रुपियाँ ८८ पैसामा ठेक्का सकार गरेको छ । आगामी असार मसान्तसम्म २४ कोठाको दुई तल्ले व्यवस्थित पक्की भवन निर्माण गरिने शहरी विकास तथा भवन कार्यालय जनकपुरका प्रमुख विनोद कुमार यादवले जानकारी दिए ।

हरिभवनस्थित शिशु कल्याण जनता माध्यमिक विद्यालयको जग्गामा भवन बनाउन लागिएको हो । विद्यालयले प्रदान गरेको नौ कठ्ठा जग्गामा बनिरहेको आकस्मिक आश्रय स्थल भवनसँगै ज्येष्ठ नागरिक आवास भवन बनाईने लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले बताए । नगर प्रमुख खड्काकै अध्यक्षता एवं मन्त्री सोनलको प्रमुख आतिथ्यतामा आयोजित भवन शिलान्यास समारोहमा सर्लाही क्षेत्र नं. १ का निवर्तमान संघीय सांसद प्रमोद साह, धनुषाका प्रदेश सभा सदस्य परमेश्वर साह, लालबन्दी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सोमप्रसाद बराल र विद्यालयका प्रधानाध्यापक चेतनारायण धामीले मन्तव्य राखेका थिए ।