सर्लाहीमा नेकपाका स्थानीय तह प्रमुखहरु कुुुन-कुन खेमामा ?

3

हरिवन – प्रधानमन्त्री केपी ओलीको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संघीय संसद् विघटन गरेसँगै मुलुकमा राजनैतिक तरंग फैलिएको छ । दुईतीहाई नजिकको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दुई चिरा बनेको अवस्था छ । ओली र प्रचण्ड नेतृत्वमा गठित नेकपा करिब–करिब फूटको संघारमा उभिएको छ ।

राष्ट्रिय राजनीतिमा आएको तरंगले सर्लाही नेकपा पनि अछुतो रहने कुरै भएन । सर्लाहीमा पनि नेकपा केन्द्रको झगडा स्पष्ट रुपमा देखिएको छ । यस उज्यालो अभियान मिडियाले नेकपामा देखिएको विवादका कारण सर्लाहीका विभिन्न पालिका प्रमुखहरु कुन खेमामा विभाजित छन् भनेर केलाउने प्रयास गरेको छ ।
कुराकानीका क्रममा सर्लाही स्थित नेकपामा सम्बद्ध भएर निर्वाचित पालिका प्रमुखहरु मध्ये ओली खेमामा दुई पालिका प्रमुख देखिएका छन् भने प्रचण्ड–माकुने–खनाल खेमामा ५ पालिका प्रमुख देखिएका छन् । पालिका प्रमुखहरुको भनाई अनुसार तत्काल सर्लाहीमा प्रचण्ड–नेपाल–खनाल खेमा बलियो देखिएको छ । तर यो खेमा कतिञ्जेल बलियो देखिने हो वा अर्को खेमाले कस्तो खेल खेल्ने हो भन्ने कुरा भने भावि गतिविधिले स्पष्ट पार्ला नै ।

ओली खेमामा हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं र ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटा लागि परेका छन् । हरिवनका मेयर प्रसाईं एवं ईश्वरपुरका मेयर देवकोटा त ओली खेमाले नियुक्त गरेको पार्टीको केन्द्रीय सदस्यमा समेत चयन भईसकेका छन् ।

काडमाडौंमै रहेको अवस्थामा आईपरेको राजनैतिक घटनाक्रमका साक्षी हरिवनका मेयर प्रसाईं त प्रधानमन्त्री एवं नेकपाका तत्कालिन प्रथम अध्यक्ष ओलीको पक्षमा निकै कडा रुपमा प्रस्तुत भईरहेका छन् । उनले प्रम ओलीले चालेको कदमका पक्षमा डटेर लागिरहेको देखिन्छ । मेयर प्रर्साईं ओली पक्षको संगठन विस्तारमा समेत निकै लागि परेका छन् । ‘प्रम ओलीले निकै बाध्यात्मक परिस्थितीका कारण संसद् विघटन गनु परेको हो’, मेयर प्रसाईं भन्छन्, ‘वास्तविक नेकपा प्रथम अध्यक्ष ओली नेतृत्वमै छ, अरु सबै नक्कली नेकपा हुन् ।’

यो पनि पढ्नोस्

संसद् विघटन प्रकरणले जुटायो, एकअर्कालाई देखि नसहने सर्लाही नेकपाका नेताहरुलाई

त्यस्तै ईश्वरपुरका मेयर देवकोटाले पनि आफू ओली खेमामै रहेको बताए । ‘राष्ट्रियताको सबाल देखि हरेक हिसाबमा म हिजो पनि त्यही गुटमा हो, आज पनि त्यही गुटमा छु, हाँमी संस्थाको पछी लाग्ने हो, त्यसैले म ओली गुटमै संस्थागत पक्षमा छु’, उज्यालो अभियानसँग कुरा गर्दै मेयर देवकोटाले भने, ‘म पहिले देखि केपी ओली गुटमा लागेको मान्छे हुँ, अहिले पनि त्यही गुटमा हुँ, एक वर्ष अघि आएर कोही संस्थागत हुन सक्दैन, पार्टी अध्यक्ष, महासचिव, माईन्युट आदि हेर्दा पनि थाहा हुन्छ, नेपाल कम्युनिष्ट पार्टीको मुलधार भनेको केपी ओली गुट नै हो, यो आयाराम गयाराम त आउँछन् जान्छन नी, त्यसैले अहिले आएर धोखा दिने कुरा हुँदैन, अरु को कता गए भन्ने हैन, मेरो खेमा भनेको केपी ओली गुट नै हो ।’

यता लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का भने आफू पहिले देखि नै नेपाल–खनाल गुटमा रहेको बताउँछन् । ‘म पहिला देखि नै एमालेको नेपाल–खनाल गुटमा थिएँ, अहिले पनि त्यही गुटमा छु’, मेयर खड्काले उज्यालो अभियानसँग भने, ‘दायाँबायाँ हुने कुरै छैन, यो नीति भन्दा पनि नेतृत्वको झगडा हो, त्यसैले म पहिला जहाँ थिएँ, अहिले पनि त्यहीँ छु ।’

बागमती नगरपालिकाका मेयर भरतकुमार थापा पनि नेकपाको पछिल्लो समिकरणमा प्रचण्ड–माकुने–खनाल गुटमै आफू रहेको बताउँछन् । ‘म राजनैतिक हिसाबले पहिला देखि नै माओवादी नेता नारायणकाजी श्रेष्ठसँग नजिक भएको मान्छे हुँ, मेरो उहाँसगै बढी हिमचिम छ’, मेयर थापाले भने, ‘जनमाेर्चा, माओवादी हुँदै म नेकपा भएको हुँ, त्यसैले मेरो स्पष्ट लाईन भनेको नेकपामा प्रचण्ड–माकुने–खनाल खेमा नै हो ।’

त्यसैगरी बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो पनि आफू प्रचण्ड–माकुने–खनाल गुटमै रहेको बताउँछन् । ‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक छ, यसले मुलुकलाई राजनैतिक बन्दी बनाउने मात्र नभई ठूलो आर्थिक क्षति समेत दिने कुरामा दुईमत छैन ।’, मेयर महतो भन्छन्, ‘म संयुक्त जनमोर्चा, माओवादी हुँदै नेकपा भएको हुँ, त्यसैले अहिलेको मेरो गुट भनेको प्रचण्ड–माकुने–खनाल खेमा नै हो ।’

त्यस्तै हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुर पनि प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर निर्वाचन घोषणा गर्नु असंवैधानिक कदम भएको बताउँछन् । ‘प्रम ओलीको कदम असंवैधानिक हो’, मेयर मन्सुर भन्छन्, ‘नेकपा भित्र म प्रचण्ड–माकुने–खनाल खेमामा सकृय रहने छु ।’

त्यसैगरी केही वर्ष अघि मात्र माओवादी हुँदै नेकपामा समाहित भएका चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादव पनि प्रम ओलीले चालेको कदमको सख्त विरोधी छन् । निवर्तमान श्रम रोजगार यातायात तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवका छोरा विक्रमले प्रम ओलीको कदम असंवैधानिक रहेको बताए । ‘आफ्नै पार्टीका नेताले चालेको कदम भएपनि असंवैधानिक छ’, उज्यालो अभियानसँग कुरा गर्दै भने, ‘यस्तो प्रतिगामी कदमको समर्थन गर्न सकिदैन, त्यसैले हाँमी असंवैधानिक कदमको विरोधमा छौं ।’

सर्लाहीमा २० वटा पालिका मध्ये ७ वटामा नेकपा सम्बद्ध उम्मेद्वारहरु प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । नेकपाबाट निर्वाचित पालिका प्रमुखहरुको सर्सती पछिल्लो अवस्था हेर्दा प्रम ओली पक्ष भन्दा पनि प्रचण्ड–नेपाल–खनाल खेमामा बढी जनप्रतिनिधि देखिन्छन् । अब कतिदिन यो दुई खेमाको अवस्था यसरी नै टिक्ने हो, त्यो भने भविष्यको गर्भभै लुकेको देखिन्छ ।