हरिवनको वडास्तरीय फुटबलको उपाधी ११ नम्बरले चुम्यो

7
प्रतियोगिताको विजयी वडा नं. ११ को टिम । (तस्बिर : उज्यालो अभियान)

सुखेपोखरी – सर्लाहीको हरिवन नगरपालिका–१० सुखेपोखरीमा सम्पन्न प्रथम अन्तर वडा फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ११ ले चुमेको छ ।

सोमबार भएको फाईनल खेलमा वडा नम्बर १० लाई सुन्यका विरुद्ध १ गोल गर्दै वडा नं. ११ ले प्रतियोगिताको उपाधी चुमेको हो । उपाधीसँगै ११ नं. टिमले २५ हजार रुपैंया नगद र प्रथम शिल्ड हात पार्यो ।

फाईनल भिडन्तमा पराजित भएसँगै प्रतियोगिताको उपविजेता वडा नं. १० ले भने नगद १५ हजार रुपैंयामै चित्त बुझाउनु परेको छ । वडा नम्बर ११ को जीतमा टिमको तर्फबाट खेलको १६औं मिनेटमा एकमात्र निर्णायक गोल जर्सी नम्बर १५ का विजय घलानले गरे । टिमको जितका लागि निर्णायक गोल गरेका घलान फाईनल खेलको म्यान अफ दि म्याच भए ।

वडा नं. १० का खेलाडीले खेललाई बराबरी गर्न अनेक प्रयास गरेपनि सफलता हात पारेनन् । खेल अत्यन्त प्रतिष्पर्धात्मक भएकाले दर्शकले भने भरपुर मनोरञ्जन लिएका थिएन ।

प्रतियोगितामा वडा नं. ११ का सुमन पाख्रीन उत्कृष्ट गोलकिपर, मौसम कार्की उत्कृष्ट रक्षक, उत्कृष्ट फरवार्ड वाङ् दोर्जे थिङ घोषित भए । त्यस्तै वडा नं. १० का लिल बहादुर राई उत्कृष्ट मिडफिल्डर एवं हाई स्कोरर पनि वडा नं. १० कै प्रज्ञान उप्रेती घोषित भए । फेयर प्ले टिम तर्फ भने वडा नं. ७ घोषित भयो ।

न्यू हरिवन युवा क्लबको आयोजनामा पुस ५ गतेबाट सूरु भएको प्रतियोगितामा नगरपालिका भित्रका ११ वटा वडाका टिमले भाग लिएको कार्यक्रम संयोजक सचित न्यासुर तामाङले जानकारी दिए । विजयी टिमलाई समापन समारोहका प्रमुख आतिथि हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले शिल्ड तथा पुरस्कार वितरण गरेका थिए । क्लबका राजेश चौधरीको अध्यक्षता रहेको कार्यक्रममा उपमेयर रेणुका पौडेल, वडाध्यक्षहरु शम्भुप्रसाद मैनाली, नेत्रप्रसाद मैनाली, शेष मेहबुब रेजा, नेपाली कांग्रेसका नेताहरु रामप्रसाद मैनाली, डोरप्रसाद भट्टराई, सोनी बम्जन, रामशरण उप्रेती लगायतको विशिष्ट आतिथ्यता रहेको क्लबका अध्यक्ष निरोज कार्कीले जानकारी दिए ।