संसद् विघटन प्रकरणले जुटायो, एकअर्कालाई देखि नसहने सर्लाही नेकपाका नेताहरुलाई

4
सर्लाहीको मूर्तियामा बसेको नेकपा जिल्ला कमिटी बैठकमा सहभागी नेताहरु । (तस्बिर ः:उज्यालो अभियान)

मूर्तिया – संसद् विघटन प्रकरणले सर्लाहीमा पानी बाराबार जतिकै अवस्थामा रहेका नेकपाका नेताहरुलाई एकै ठाउँमा ल्याईदिएको छ । सर्लाहीको मूर्तियामा आईतवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही जिल्ला कमिटीले अगुवा कार्यकर्ता भेलाको दृष्यले संसद् विघटन अघि जिल्ला स्तरीय नेताहरुको गुट उपगुट तोडेर एक अर्कालाई देख्नै नसक्ने नेताहरु एक ठाउँमा उभिएका छन् ।

बरहथवा नगरपालिका–९ मूर्तियास्थित कभर्ड हलमा नेकपाका जिल्ला कमिटी अध्यक्ष रेवती पन्तको अध्यक्षता एवं पूर्व मन्त्री तथा ३ नम्वर क्षेत्रका निवर्तमान संघीय सांसद रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा अघोषित रुपमा टुक्रिसकेको सो पार्टीको अगुवा नेता कार्यकर्ताहरुको भेला भएको हो । जिल्ला कमिटी सचिव कमल बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा नेताहरु अच्यूतम काफ्ले, लक्ष्मण पौडेल, जिल्ला इन्चार्ज डाचाराज वाग्ले, नेतृ विनिता दाहाल र बेची लुंगेली, अन्य नेताहरुमा डिल्लीप्रसाद उपे्रती, केशव ढुंगाना, रवीन्द्र बैठा, सुरेन्द्र लामा, अर्जुन पन्त, विदुर प्याकुरेल, राजकुमार राय, लुमडीप्रसाद धिमाल लगायतले मन्तव्य राखेका थिए ।

सो भेलाले संसद् विघटनको विरोधमा भोली (मंगलबार) सदरमुकाम मलंगवामा विरोध सभा गर्ने र वडा स्तरसम्म नै कार्यकर्ता भेलाहरु गरेर प्रतिगामी कदमका विरुद्ध सशक्त आन्दोलनको तयारी गर्ने निर्णय गरेको जिल्ला कमिटी अध्यक्ष पन्तले उज्यालो अभियानसँग बताए ।

यसैबीच आईतवारको भेलालाई जिल्ला कमिटीको भेला भनिएपनि प्राय : प्रचण्ड–नेपाल गुटका नेताहरु मात्रै सहभागी थिए । नेकपा सर्लाहीमा अहिले ओली समूहका भन्दा पनि हिजो भेला गरेको प्रचण्ड–नेपाल पक्षधरका नेता कार्यकर्ताको बाहुल्यता रहेको बताइन्छ ।

जिल्ला कमिटी अध्यक्ष पन्तले आफू, जिल्ला इन्चार्ज, सचिव लगायत सहभागी भएकाले पाटी विभाजन नभएको बताएका छन् । पन्तले जिल्लामा नेकपाले जितेकोमध्ये आईतवारको भेलामा प्रतिनिधि सभा सदस्य एक जनामध्ये पूर्व मन्त्री राय आफै प्रमुख अतिथि, प्रदेश सभामा दुईवटा जितेको मध्ये प्रदेश सांसद डिल्लीप्रसाद उपे्रती र बेची लुंगेली, ७ वटा स्थानीय तहमध्ये ईश्वरपुर र हरिवन नगरपालिकाका बाहेक अरु ५ वटा पालिकाका प्रमुख, ७ सदस्यीय जिल्ला कार्यालय सदस्यमध्ये सातै जना, केन्द्रिय सदस्य ८ जनामा ६ जना, प्रदेश कमिटीमा ३४ जनामा २९ जना सहभागी भएका दावी समेत गरे ।

यसअघि जिल्ला अध्यक्ष पन्तको जिल्ला ईन्चार्ज वाग्ले र जिल्ला सचिब बुढाथोकीसँग
पानी बाराबार जतिकै अवस्था थियो । एक नेताका अनुसार अध्यक्ष पन्तको गुटमा रहेका राजकुमार यादव, लुमडी प्रसाद धिमाल, विदुर प्याकुरेल, चूडामणि वाग्ले लगायत दर्जनौं नेताहरुको जिल्ला ईन्चार्ज वाग्ले, सचिव बुढाथोकी, प्रदेश सांसद् डिल्ली उप्रेती, नेता सुरेन्द्र लामा, बागमतीका मेयर भरत थापा लगायतसँग अत्यन्त कटुतापूर्ण सम्बन्ध थियो । संसद् विघटन प्रकरण पश्चात केन्द्रीय प्रचण्ड–नेपाल–खनाल समूहमा आवद्ध भएपछि नेकपा एकीकरण यताकै यी सबै नेताहरुको विस्तृत भेला सम्भव भयो । नत्र यसअघि एक समूह उपस्थित हुने कार्यक्रममा अर्को समूह उपस्थित नहुने अर्थात लगभग बहिष्कार गर्ने जतिकै अवस्था थियो । उनीहरुबीच फेसबुक लगायत सामाजिक संजालहरुमा हुने आरोप प्रत्यारोप सहितको कटाक्षले अत्यन्त तिक्तता झल्काउँथ्यो ।