सर्लाहीमा पनि जल्यो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला, आज मसाल जुलुस

4
सदरमुकाम मलंगवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्दै जसपाका नेता कार्यकर्ता । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – जनता समाजवादी पार्टी (जसपा) ले संसद् विघटन विरुद्ध शुक्रवार सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।

जस अन्तर्गत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको जसपाका नेताहरुले बताएका छन् । प्रतिनिधि सभा विघटन गरिएको विरोधमा जसपाले जिल्लाको क्षेत्र नं. १ मा बयलवास, क्षेत्र नं. २ मा मलंगवा, क्षेत्र नं. ३ मा बरहथवा र क्षेत्र नम्वर ४ मा गोडैतामा प्रदर्शन गरेको हो ।

केन्द्रीय कार्यक्रम अनुसार क्षेत्र नम्वर १ को ईश्वरपुरस्थित बयलवास बजारमा सर्लाही क्षेत्र नं. १ का निवर्तमान सांसद प्रमोद कुमार साहको नेतृत्वमा प्रदर्शन गरिएको पार्टीका नेता सुनिल कुमार साहले जानकारी दिए । त्यस्तै अन्य क्षेत्रहरुमा पनि जसपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको बताईएको छ ।

जसपाले आन्दोलनको कार्यक्रम अनुसार आज (शनिवार) जिल्लाका विभिन्न ८ स्थानमा मसाल जुलुस निकाल्ने बताएको छ । यसअघि जसपाले बुधवार सदरमुकाम मलंगवामा जिल्लाभरका कार्यकर्ता उतारेर प्रदर्शन गरेको थियो ।

यसैबीच अनेरास्ववियुका नेता कार्यकर्ताले शुक्रबार साँझ हरिवनमा मसाल जुलुस सहित विरोध प्रदर्शन गरेका छन् । प्रचण्ड–माकुने पक्षका विद्यार्थीहरुको सहभागितामा मसाल जुलुस सहित विरोध प्रदर्शन गरिएको हो । उनीहरुले राष्ट्रपति भण्डारी र प्रम ओली विरुद्ध चर्को नाराबाजी समेत लगाएका थिए ।