सर्लाहीको पर्सा र कविलासीमा भएका दुर्घटनामा दुई घाईते

3
सांकेतिक तस्बिर ।

मलंगवा – सर्लाहीको पर्सा र कविलासीमा गएसाँझ (बिहिवार साँझ) भएका अलगअलग सवारी दुर्घटनामा दुई जना घाईते भएका छन् ।

भारतीय सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिका २ मा बीआर ०६ एस ७२५४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा त्यही ठाउँका भोला महतोकी १७ वर्षीया छोरी सुनिता कुमारी महतो गम्भीर घाईते भएकी छिन् । घाईते युवतीलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको सीमा प्रहरी चौकी संग्रामपुरले जनाएको छ ।

यस्तै नवलपुर–मलंगवा सडक अन्तर्गत कविलासी नगरपालिका ८ कविलासी चोकमा पिकअपको ठक्करबाट एक महिला गम्भीर घाईते भएकी छिन् । सदरमुकाम मलंगवातर्फ गइरहेको ना ५ ख १४१५ नम्वरको पिकअप गाडीले ठक्कर दिँदा घाईते सोही ठाउँकी ४५ वर्षीया शिलादेवी साहको जिल्ला अस्पताल मलंगवामा उपचार चलिरहेको प्रहरी चौकी कविलासीले जनाएको छ ।

दुवै दुर्घटनामा संलग्न सवारी र त्यसका चालक प्रहरीको नियन्त्रणमा छन् ।