निःशुल्क पशु उपचार शिविरबाट दुई सय किसानलाई लाभ

4
शिविरमा किसानले ल्याएको गोरुलाई भ्याक्सिन लगाउँदै पशु प्राविधिक । (तस्बिर : उज्यालो अभियान)

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिका ५ मोहनपुरमा हिजो (वुधवार) सम्पन्न एक दिने निःशुल्क पशु स्वास्थ्य शिविरबाट दुई सय बढी किसान लाभान्वित भएका छन् ।

गाउँपालिकाको पशु सेवा शाखाले आयोजना गरेको शिविरबाट त्यहाँका दुई सय २३ जना किसानले पालेको एक हजार दुई सय वटा गाई, भैँसी र बाख्रापाठाको औषधोपचार गरिएको हो । शिविरमा १८० जना किसानले पालेको छ सय पशुलाई भ्यागुते र चरचरे रोगविरुद्धको भ्याक्सीन लगाइएको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख राकेश कुमार महतोले बताए ।

यस्तै १० वटा भैँसी र १५ वटा गाईको गर्भ परीक्षण, ८ वटा गाई र चार वटा भैँसीमा कृतिम गर्भधान सेवा, १३ वटा भैँसी र दुईवटा गाईको गोबर परीक्षण गरिएको पशु सेवा शाखाका प्रमुख महतोले बताए । शिविरमा गाउँपालिकाका पशु प्राविधिकसँगै जिल्ला पशु सेवा विज्ञ केन्द्र मलङ्गवाका डाक्टर जयप्रकाश यादव, विज्ञ केन्द्रकै अधिकृत श्यामसुन्दर यादव र छिमेकी पालिकाका पशु प्राविधिकहरुले किसानले ल्याएका पशु चौपायहरुको औषधोपचार गरेका थिए ।

गाउँमै वस्तुभाउको उपचारसँगै रोग अनुसारको औषधि समेत निःशुल्क रुपमा पाएपछि किसानहरु खुसी भएका छन् ।