छोरीको जन्मदिनमा राउत दम्पत्तिद्वारा आश्रमका वृद्धवृद्धालाई भोजन

9
आश्रममा भोजन गराउन पुगेका राउत दम्पत्ति र साथमा आश्रमकी व्यवस्थापक भवानी कोइराला ।

नवलपुर – छोरीको जन्मदिनको अवसर पारी सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटका वडा सदस्य मोहन राउत र उनकी श्रीमती जुना कार्की राउतले वृद्धश्रममा भोजन गराएका छन् ।

राउत दम्पत्तिले छोरी हिमानी तीन वर्षमा प्रवेश गरेको अवसरमा बिहिवार बिहान लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका बुवा–आमालाई भोजन गराएका हुन् । जन्मदिनमा तडकभडक गर्ने पछिल्लो संस्कारलाई चिर्दै आफूहरु बिहानै आश्रममा पुगेर त्यहाँ आश्रय लिई बसिरहेका वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएको वडा सदस्य राउतले उज्यालो अभियानसँग बताए ।

पेशा व्यवसाय र बद्लिँदो समय अनुसार मानिस आफ्नै काममा ब्यस्त भई सामाजिक काममा चासो दिन छाडिसकेको अवस्थामा आश्रमका संरक्षक बासुदेव शरण कोइराला, व्यवस्थापक भवानी कोइराला लगायतले आफ्नै सन्तानबाट अपहेलित भएका ३५/४० जना वृद्धवृद्धाको पालनपोषण गरेको देख्दा आफू अत्यन्त प्रभावित भएको राउतको भनाई छ ।

आश्रममा पछिल्लो समय जन्मोत्सव, वैवाहिक वर्षगाँठ, दिवंगत आफन्तको तिथी र विभिन्न सामाजिक संघसंस्थाको वार्षिकोत्सव लगायतका अवसरमा सहयोग गर्नेहरु बढिरहेका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।