इन्दुशंकर र महालक्ष्मीले उखु पेल्न सुरु गरे

सोमवारबाट सञ्चालनमा आएको इन्दुशंकर चिनी मिल । (तस्बिर :घनश्याम बलम्पाकी/उज्यालो अभियान)

हरिवन – उत्तरी भेगस्थित हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग हिजो (सोमवार) बाट सञ्चालनमा आएको छ ।

उद्योगले सोमवार बिहान ११ः४५ बजेबाट उखु क्रसिङ गर्न सुरु गरेको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले उज्यालो अभियानलाई जानकारी दिए ।

यो सिजनका लागि उद्योग सञ्चालन गर्न मंसिर २६ गते डोंगा पूजा गरिएको थियो । उखु प्रवन्धक रजकका अनुसार उद्योगले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।

गत वर्ष २६ लाख ६७ हजार ९७१ क्विन्टल उखु क्रसिङ गरेको इन्दुशंकरले दशैँ अघिनै किसानको सम्पूर्ण भुक्तानि गरेको थियो । यस्तै मंगलवारबाट दक्षिणी भेगको महालक्ष्मी चिनी मिल पनि सञ्चालनमा आएको छ । मंगलवार बिहान ९ बजेदेखि उद्योगले उखु पेल्न थालेको उखु किसान समेत रहेका गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले बताए ।

अब जिल्लाको अर्को चिनी मिल अन्नपूर्ण चिनी उद्योग धनकौल सञ्चालनबारे भने अन्यौलता छ । गत वर्ष सञ्चालनमा आउन नसकेको अन्नपूर्ण चिनी उद्योगले किसानलाई तीन÷चार वर्षअघिकै भुक्तानि दिन बाँकी छ ।