महिला साना किसान कालिन्जोरको छैठौँ साधारण सभा सम्पन्न

35
संस्थाको वार्षिक साधारण सभामा विद्यार्थीहरुलाई शैक्षिक सामग्र प्रदान गरेपछि सामूहिक तस्बिर खिचाइँदै ।

कालिन्जोर – सर्लाहीको ईश्वरपुर नगरपालिका १२ कालिन्जोरमा रहेको महिला साना किसान कृषि सहकारी संस्थाको शनिवार छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष बिन्दा लुंगेलीको अध्यक्षता तथा जिल्ला कृषि सहकारी संघका निवर्तमान अध्यक्ष समेत रहेका लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा संस्थाको साधारण सभा सम्पन्न भएको हो । सोही अवसरमा संस्थाले विद्यार्थीलाई नियमित विद्यालय उपस्थित गराउने उद्देश्यले कालिन्जोरमा रहेका नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीका २६ जना र जनता प्राथमिक विद्यालय नयाँटोलका १२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

विगत दुई वर्षदेखि संस्थाले साधारण सभाका अवसरमा यसरी विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै आएको छ । सभामा संस्थाका एक जना असल ऋणी, दुई जना नियमित मासिक बचतकर्ता र एक जना बाल बचतकर्तालाई सम्मान समेत गरेको छ ।

जिल्लाको उत्तर–पूर्वी ग्रामीण गाउँमा रहेको संस्थाले गत आर्थिक वर्ष २०७६÷०७७ मा दुई करोड ७८ लाख कुल कारोवार गरी १० लाख ८० हजार रुपैयाँ खुद मुनाफा गरेको संस्थाका प्रवन्धक बिजयकुमार बोहोराले जानकारी दिए ।

साधारण सभाको उद्घाटन सत्रमा कालिन्जोरका वडाध्यक्ष नागेन्द्र कुमार पाख्रिन, लालबन्दी नगरपालिका ४ का वडाध्यक्ष सोमप्रसाद बराल, नेपाली काँगे्रसका क्षेत्रीय सभापति प्रमोद बराल, नेपाली काँगे्रसका नेता हरि लुंगेली, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भोजबहादुर खत्री, जनार्दन देवकोटा लगायतले मन्तव्य राखेका थिए ।