गाँजासहित तीन युवक पक्राउ

3
केही समय अघि बरामद् गाँजा आगो लगाएर जलाईंदै । (फाईल तस्बिर : उज्यालो अभियान)

लालबन्दी – जिल्लाको लालबन्दी र ईश्वरपुर नगरपालिकाबाट ४६.७६ किलो लागूऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् ।

लालबन्दी नगरपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा चेकजाँचको क्रममा २६.२३ किलो गाँजासहित दुईजना पक्राउ परेको प्रहरीले जनाएको हो । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगडी गाउँपालिका–१ दापडाँडा बस्ने ३५ वर्षीय शक्ति लामा र रौतहटको चन्द्रपुर–१ निवासी ४२ वर्षीय प्रेम यादव रहेको प्रहरीले जनाएको छ ।

लागुऔषध गाँजालाई बा. ८३ प ८४७१ नम्बरको मोटरसाइकलमा राखेर लैजाँदै गरेको अबस्थामा पक्राउ परेका हुन् । शंका लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलको लेगार्डमा बाँधेको र पछाडि सवार यादवले बोकेको झोलामा समेत गरी रातो प्लाष्टिकमा प्याक गरेर बोकेको उक्त परिमाणको लागुऔषध बरामद भएको प्रहरीको भनाइ छ ।

त्यस्तै जिल्लाको ईश्वरपुर नगरपालिका–१२ पूर्व–पश्चिम लोकमार्गबाट १०.५ किलो लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । सर्लाहीको बाँके चोकस्थित घारिबथानबाट महोत्तरीको बर्दिवासतर्फ साइकलमा जाँदै गरेका जलेश्वर नगरपालिका–७ निवासी २० वर्षीय रुपेश राय गाँजासहित पक्राउ परेका हुन् ।

उनले चलाएको साइकलको क्यारियरमा बाँधेको क्यारेटमा प्लाष्टिकमा प्याक गरेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजना सहित ओसारपसार प्रयोग भएको सवारीसाधनसमेत नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।