बागमतीका मेयर थापाले भने, ‘अब राजाको छोरा राजा बन्ने दिन गए’

4
कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै मेयर थापा । (तस्बिर : उज्यालो अभियान)

बागमती – बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले अब राजाका छोरा–छोरी राजा हुने दिन गएकोे बताएका छन् ।

बागमती नगरपालिका स्थित श्री ५ महेन्द्र जनता प्रविधिक शिक्षालय तर्फ डिप्लोमा तहमा अध्यनरत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै मेयर थापाले त्यस्तो कुरा बताएका हुन् । विद्यालय प्रांगणमा आयोजित बधाई ज्ञापन कार्यक्रममा नगरका हरेक क्षमतावान विद्यार्थीले महंगो भन्दा महंगो भनिएको शिक्षा आर्जन गर्न सक्ने बताए ।

केही समय पहिला सम्म डाक्टरका छोरा छोरी मात्र डा. पढ्न पाउने, ईन्जिनियरका छोरा छोरी मात्र ईन्जिनियर बन्ने परिपाटिको अन्त्य भएको समेत मेयर थापाले दाबी गरे । दक्ष जनशक्ति उत्पादनको पहिलो खुड्किलो प्राविधिक शिक्षा भएकोले नगरले पहिलो प्राथमिकतामा राखेर एकै पटक डिप्लोमा सिभिल इन्जिनियर, पशु विज्ञान र कृषि विज्ञान कार्यक्रम संचालन गरेको उनको भनाई थियो ।

पहिलो सेमेस्टरमा समेत प्रदेश पहिलो भएको यस शिक्षालयले दोस्रो सेमेस्टरको परिक्षामा समेत प्रदेशमै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको विद्यालयले जनाएको छ । बिद्यार्थीको मनोवल उच्च बनाउन मद्धत पुग्ने भएकोले औपचारिक कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष घनश्याम थापाले जानकारी दिए ।

यसैविच बधाई कार्यक्रम अन्तर्गत बागमती नगरपालिकाका मेयर थापाले परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने रितेश सहनी(प्रथम), सन्तोष कुमार महतो (दोस्रो) र दिपेन्द्र महतो कोईरी (तेस्रो) लाई बिद्यालयको तर्फबाट नगद सहित खादा र माला लगाएर सम्मान गरिएको छ । विद्यालयका शिक्षक शिक्षिकाहरुलाई समेत सम्मान गरिएको विद्यालयका इन्जिनियर राकेश रौनियारले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम थापाको अध्यक्षतामा सम्पन्न बधाई ज्ञापन तथा शुभकामना कार्यक्रममा मेयर थापा प्रमुख अतिथि, निर्माण समिति संयोजक हरि प्रसाद पुडासैनी, विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्षहरु जंग बहादुर भट्टराई, नेत्र सिंह बानिया, विनिता दाहाल, काजिराम कुशवार, नेपाली कांग्रेसका नगर सभापती दिपक कुमार रानाभाट, नेकपा विद्यार्थी नेता राजकुमार बिश्वकर्मा, वागमती उद्योग बाणिज्य संघ अध्यक्ष खेट बहादुर प्रधान, बागमती नगरपालिकाका ईन्जिनियर सागर पौडेल लगाएतको आतिथ्यता रहेको कार्यक्रम संचालक एवं शिक्षक सुबोध मण्डलले जानकारी दिए ।

कार्यक्रममा सम्बोधन गर्ने अधिकांश वक्ताहरुले ब्यवहारीक ज्ञानलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिएका थिए । जनप्रतिनिधिको आगमन सँगै बागमती नगरपालिकाले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको कार्यक्रम संचालन गरिरहेको नगर कार्यपालिकाले जनाएको छ । नगरमा रहेका अधिकांश सामुदायिक विद्यालयको पठन पाठन मात्र नभई भौतिक संरचनामा समेत सुधार भएको स्थानीयको भनाई छ ।