कांग्रेस नेता कार्कीले आगलागी पीडितलाई राहत दिँदै जन्मदिन मनाए

आगलागी पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्दै कांग्रेस नेता कार्की र दास सहितका युवाहरु । (तस्बिर : उज्यालो अभियान)
हरिवन नगरपालिकाको तर्फबाट प्रदान गरिएको राहत सामग्रीका साथ उपमेयर रेणुका पौडेल लगायत । (तस्बिर : उज्यालो अभियान)

हरिवन – नेपाली कांग्रेस हरिवन नगर समितिका सचिव निरोज कार्की र अर्का कांग्रेस कार्यकर्ताले आफ्नो जन्मदिनको अवसरमा आगलागी पीडित एक परिवारलाई राहत सामग्री प्रदान गरेका छन् ।

हरिवन नगरपालिका वडा नं.–२ अत्रौली बुढाथोकी टोलमा आगलागीबाट घरवारविहिन भएको मंगलसिंह राना मगरको परिवारलाई कार्की र हरिस दासले शुक्रबार बिहान राहत सामग्री प्रदान गरेका हुन् । शुक्रबार बिहान विद्युत् सर्ट भई आगलागी हुँदा बनीबुतो गरेर गुजारा टार्ने मगरको कच्ची घर जलेर नष्ट भएको थियो । आगलागीबाट मगरको घरभित्र रहेको सबै सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

कांग्रेसबाट हरिवन नगरपालिका वडा नम्बर ११ मा वडाध्यक्षका प्रत्यासी समेत रहेका युवा नेता कार्की र दासले संयुक्त रुपमा दुई/दुई थान डस्ना, सिरक, सिरानी, झुलसँगै त्रिपाल र चामल प्रदान गरेका हुन् । जन्मदिनको अवसरमा पीडित परिवारलाई सहयोग गर्न पाउँदा अत्यन्त खुशी लागेको कार्की र दासले बताएका छन् ।

यसैबीच पीडित परिवारलाई हरिवन नगरपालिकाले पनि राहत सामग्री प्रदान गरेको छ । नगरपालिका कार्यालयले दुई थान डस्ना, दुई थान कम्बल, तन्ना, सिरानी, झुल, २५ किलो चामल, ५ किलो दाल, नुन, तेल, आलुसँगै पकाई खाने भाडा सामग्री प्रदान गरेको हो । नगरपालिकाकी उपप्रमुख रेणुका पौडेल, वडा नं. २ का वडाध्यक्ष अर्जुन महतो लगायतले पीडित परिवारलाई भेटेर राहत सामग्री हस्तान्तरण गरेका छन् ।

श्रीमान श्रीमती दुवै शारीरिक रुपमा अशक्त रहेका मगर परिवारको करिव एक लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको हरिवन नगरपालिका वडा नम्बर २ का वडा सदस्य बाबुलाल दोङले जानकारी दिए । पीडित परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकाले आफूले समेत तीन हजार रुपैयाँ सहयोग गरेको दोङले बताए ।