स्वयंसेविकाले पाए साईकल र झोला

महिला स्वयंसेविकाहरुलाई साईकल र ब्याग हस्तान्तरण गर्दै प्रदेश सांसद डिल्ली प्रसाद उप्रेती र अन्य । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१० वडा कार्यालयले आफ्नो वडाभित्रका ६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई वुधवार एक/एक थान साईकल र झोला वितरण गरेको छ ।

न्यून पारिश्रमिक लिएर घर–घरमा पुगी स्वास्थ्य सेवा गर्ने स्वयंसेविकाहरुको प्रोत्साहन गर्ने उद्देश्यले वडाको बजेटबाट साईकल र झोला वितरण गरिएको वडाध्यक्ष शम्भुप्रसाद मैनालीले जानकारी दिए । प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा साईकल तथा झोला वितरण गरिएको हो ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख रेणुका पौडेल, वडाध्यक्ष मैनाली, वडा नं. ६ का वडाध्यक्ष प्रल्हाद बुढाथोकी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चूडाल, नेकपाका नेताद्वय विदुर कुमार प्याकुरेल र केदारनाथ मैनाली लगायतको उपस्थिति थियो । केही दिनअघि हरिवनको वडा नं. ११ ले पनि वडाभित्रका स्वयंसेविकाहरुलाई साईकल र साडी वितरण गरेको थियो ।