बागमती मेयर कपको उपाधी फेरि पनि वडा नं. २ लाई

9
विजयी टिमलाई प्रथम शिल्ड प्रदान गर्दै बागमती नगरपालिकाका मेयर भरत थापा लगायत अतिथिहरु । (तस्बिर : श्रवण थापा)

बागमती – सर्लाहीको बागमती नगरपालिका–३ धरहरामा आयोजित दोस्रो बागमती मेयर कप फुटबलको उपाधी फेरी पनि वडा नं. २ ले नै चुमेको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा वडा नं. ८ लाई दुईका विरुद्ध तीन गोल गर्दै पहिलो मेयर कपको बिजेता वडा नं. २ ले नै दोस्रो पटकको उपाधी पनि उचालेको हो । सो वडालाई जिताउन निरोज सिंहले दुई र आशिष स्याङतानले एक गोल गरे । वडा नं. ८ का लागि सुजित शाही ठकुरी र शान्तिप्रसाद पौडेलले एक÷एक गोल गरेपनि त्यो जितका लागि पर्याप्त भएन् ।

मंगलवारको खेलमा विजयी टिमका सुजन वाईवा म्यान अफ द म्याच र उपविजेता वडा नं. ८ का सुजित शाही ठकुरी म्यान अफ द सिरिज बन्न सफल भए । प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई आयोजक अन्नपूर्ण सहारा क्लब धरहराका अध्यक्ष टंक बोहोरा (शीतल) को अध्यक्षता एवं बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको छ ।

विजेता वडा नं. २ ले ५१ हजार तथा उपबिजेता वडा नं. ८ ले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । मंसिर १८ गतेदेखि सुरु भएको प्रतियोगितामा बागमती नगरपालिकाको १२ वटा वडाका एक एक टिम र आयोजक अन्नपूर्ण सहारा क्लबका एउटा गरी १३ टिम सहभागी भएका थिए ।