जिल्ला समन्वय समिति प्रमुखको आव्हानमा सर्लाही बन्द !

9
मंगलबार सदरमुकाम मलंगवामा टायर बालेर बजार बन्द गराईंदै । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीको आव्हानमा आज (बुधबार) सर्लाही बन्द भएको छ ।

नेपाल–भारत सीमा नाका खुलाउन र हुलाकी सडक तत्काल कालोपत्रेको मागका साथ गठन भएको सर्वपक्षीय संघर्ष समितिका संयोजक जिसस प्रमुख चौधरीले हिजो (मंगलबार) एक विज्ञप्ति जारी गर्दै आज (बुधबार) सर्लाही बन्द गर्न आव्हान गरेका हुन् । संघर्ष समितिकै आव्हान अनुसार मंगलवार दिनभर सर्लाही सदरमुकाम मलंगवा बजार बन्द गराइयो । मंगलवार दिउँसो प्रेस विज्ञप्ती निकालेर चौधरीले बुधवार बन्दको अवधीमा जिल्लाभर सम्पूर्ण हाटबजार, पसल, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र यायाता बन्द रहने उल्लेख गरेका छन् ।

मंसिर २१ गतेदेखि मलंगवास्थित जिविस चोकमा धर्ना दिइरहेको सर्वपक्षिय संघर्ष समितिले पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार मंगलवार मलंगवा बजार बन्द गराएको हो । बन्दका कारण मुख्य बजारका पसल व्यवसाय खुलेनन् भने मलंगवाबाट छुट्ने र अन्यत्रबाट मलंगवा आउने सवारी साधन पनि गुडेनन् ।

संघर्ष समितिले अलपत्र अवस्थामा छाडिँदा अत्यन्त जीर्ण भई धूलाम्मे अवस्थामा रहेको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य समेत तत्काल अघि बढाउन माग गरेको छ । माग राख्दै दश दिनदेखि निरन्तर धर्नामा बस्दा समेत बेवास्ता गरिएपछि आज (वुधवार) जिल्लाभर नै बन्द आह्वान गरिएको संघर्ष समितिका संयोजक एवं जिसस प्रमुख चौधरीले जानकारी दिए । बुधबार बिहानैदेखि सदरमुकाम मलंगवा सहित दक्षिणी क्षेत्रका बजार एवं यातायात बन्द रहेको संघर्ष समितिका संयोजक जिसस प्रमुख चौधरीले जानकारी दिए । उत्तरी क्षेत्रमा भने बन्दको कुनै प्रभाव परेको छैन । बजार तथा यातायात पूर्ववत रुपमा सुचारु नै छ ।

चौधरीका अनुसार आज (बुधबार) दिउँसो जिविस चोकबाट संघीय सांसद् महेन्द्र रायको नेतृत्वमा विरोध जुलुस प्रदर्शन गर्ने तयारी भईरहेको छ । जिविस चोकबाट सूरु हुने जुलुस भन्सार कार्यालय अर्थात भारतीय सीमा क्षेत्र नजिक पुगेर पुनः जिविस चोकमै फर्किएर कोण सभामा परिणत हुने चौधरीले जानकारी दिए ।

बन्दसँगै मलंगवामा जारी धर्नालाई पनि निरन्तरता दिईने चौधरीले बताए । धर्नामा पूर्व मन्त्री एवं जनता समाजवादी पार्टीका नेता समेत रहेका संघीय सांसद् महेन्द्र राय, संघीय सांसद् प्रमोद साह, प्रदेश सांसद् अशोक यादव लगायत जिल्ला स्थित प्राय संघीय र प्रदेश सांसद्हरु, पालो अनुसार जिल्लाका सम्पूर्ण २० वटै पालिका प्रमुख, उद्योगी, व्यापारी, विभिन्न राजनैतिक दलका नेता लगायत सहभागी हुँदै आएका छन् ।

मुख्य नाका बाहेक भित्री बाटो, खोला खोल्सी र खेतबारीबाट मानिसको आउजाउ भइरहेकाले मुख्य नाका पनि खोलेर नेपाल–भारत दुवैतर्फ आवतजावत सहज बनाउनु पर्ने आफूहरुको माग रहेको संघर्ष समितिका संयोजक चौधरीको भनाई छ । यता मलंगवामा धर्ना सुरु हुनासाथ स्थानीय प्रशासनले नाका खुकुलो पार्ने निर्णय गरेपनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आफूहरुलाई माथिबाट निर्देशन नआएको भन्दै मुख्य नाकाबाट मानिस र सवारी साधनलाई ओहोरदोहोर गर्न दिएका छैनन् ।