महिला फुटबलमा सर्लाहीद्वारा पर्सा पराजित

10
मैत्रीपूर्ण खेलमा सहभागी सर्लाही र पर्साका महिला खेलाडी एवं कार्यक्रमका अतिथिहरु । (तस्बिर : राजु तामाङ)

नवराज अधिकारी/बागमती – सर्लाहीको बागमती नगरपालिका–३ धरहरामा जारी दोस्रो मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत सोमवार सर्लाही र पर्साका महिला खेलाडीबीच मैत्रीपूर्ण खेल खेलाइएको छ ।

भर्खरै सम्पन्न भएको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानलाई लक्षित गरी महिला फुटबल खेलाडीहरुबीच प्रतिस्पर्धा गराइएको हो । जसमा सर्लाहीले पर्सालाई १–० गोलले पराजित गर्यो । सर्लाहीलाई जिताउन जर्सी नम्वर ९ की अन्जली खवासले एक मात्र निर्णायक गोल गरिन् ।

महिलालाई नै प्राथमिकता दिँदै सोमवारको खेल बागमती नगरपालिका–३ की वडा सदस्य रुपा बोम्जनको अध्यक्षता एवं बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तानको प्रमुख आतिथ्यतामा खेलाइएको थियो । आयोजकले प्रतियोगिताको फाइनल खेलको पूर्व सन्ध्यामा सकारात्मक सन्देश दिने उद्देश्यले महिला खेलाडीहरुबीच प्रतिस्पर्धा गराएको हो ।

प्रतियोगिताको फाइनल खेलमा आज (मंगलवार) दिउँसो साबिक बिजेता वडा नं. २ र वडा नं. ८ ले खेल्दै छन् । अन्नपूर्ण सहारा क्लब धरहराले आयोजना गरेको प्रतियोगिताको बिजेता र उपबिजेताले ५१ हजार तथा २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् ।