धनकौलमा पुलबाट मोटरसाईकल खस्यो, चालकको मृत्यु

सांकेतिक तस्बिर ।

धनकौल – सर्लाहीको धनकौलमा सोमवार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

धनकौल गाउँपालिका-५ छटिघाटमा बीआर ३० यू ४१९१ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक कौडेना गाउँपालिका-६ सक्रौलका ३५ वर्षीय प्रमोद रायको मृत्यु भएको हो । प्रहरीका अनुसार रायले चलाएको मोटरसाइकल छटिघाटमा रहेको पुलबाट करिव १० फिट तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचारका क्रममा एडभान्स सन्जिवनी अस्पताल बरहथवामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक नरेन्द्र मोरवैताले जानकारी दिए । अस्पतालमै रहेको मृतकको शव जिल्ला अस्पताल मलंगवा पठाउने तयारी भइरहेको छ ।