हरिवनमा तेक्वान्दोका खेलाडीको ग्रेडिङ सम्पन्न

1
हरिवनमा तेक्वान्दोका खेलाडीलाई डान ग्रेडिङ तथा प्रमाण पत्र वितरण गर्न आयोजित कार्यक्रम । (तस्बिर : सन्जु कर्ण)

सन्जु कर्ण/हरिवन – सर्लाहीको हरिवनमा शनिवार तेक्वान्दोका खेलाडीहरुको ग्रेडिङ तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय तेक्वान्दो संघ नेपाल प्रदेश नं. २ कार्यसमितिको आयोजनामा डान ग्रेडिङ तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, प्रदेश नं.२ का प्रदेश अध्यक्ष कुमार मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रती प्रमुख अतिथी र हरिवन वडा नं.९ का वडा अध्यक्ष सीताराम पोखरेलको विशिष्ट आतिथ्यता रहेको थियो ।

ग्रेडिङ तथा प्रमाण पत्र बितरण कार्यक्रममा १२ जना तेक्वान्दो खेलाडीले भाग लिएका राष्ट्रिय तेक्वान्दो संघ नेपाल सर्लाहीका सल्लाहाकार दीपक मैनालीले बताए । कार्यक्रमका अतिथिहरुलाई मायाको चिनोले सम्मान गरिएको राष्ट्रिय तेक्वान्दो संघ नेपाल, प्रदेश नं.२ का सदस्य सन्तोष भुजेलले जानकारी दिए ।

ग्रेडिङ तथा प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य उप्रेतीले आफूले सक्दो सहयोग गर्ने बताउदै शनिवार ग्रेडिङमा अनुशासित र उत्कृष्ट एक महिला र एक पुरुष गरी दुई जना लाई जनही दुई–दुई हजार पुरस्कार दिएका छन् । यस्तै विशिष्ट अतिथि पोखरेलले आफ्नो वडाबाट बजेट नै छुट्यार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका कार्यक्रम संचालक तथा राष्ट्रिय तेक्वान्दो संघ नेपाल सर्लाहीका सल्लाहाकार सन्तोष बाँनियाले बताए ।

यस्तै शनिवारको कार्यक्रमको अवसरमा आज राष्ट्रिय तेक्वान्दो संघ नेपाल, दिर्घायु तेक्वान्दो डोजाङ्गको उदघाटन गरिएको छ ।
हरिवन ११ मा रहेको दिर्घायु तेक्वान्दो डोजाङ्गको प्रशिक्षकमा राष्ट्रिय तेक्वान्दो संघ नेपाल, प्रदेश नं.२ का उपाध्यक्ष जयमान पाख्रिन छन् । डान ग्रेडिङ तथा प्रमाण पत्र बितरण कार्यक्रममा संजय श्रेष्ठ, सुरेश पाख्रिन, श्याम शिवाकोटी लगायतले स्वागत तथा शुभकामना मन्तब्य राखेका थिए ।

यसैबीच नेपाल आइटिएफ तेक्वान्दो संघ प्रदेश २ को बैठक शनिवार लालबन्दीमा बसेको छ । संघकी प्रदेश अध्यक्ष अन्जना शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को संक्रमणका कारण लामो समयदेखि स्थगित आइटिएफ तेक्वान्दोका प्रशिक्षण एवं प्रतियोगिताहरु अब क्रमैसँग सञ्चालन गर्ने निर्णय गरेको प्रदेश सचिव उमेश सिंहले जानकारी दिए ।

परिस्थिति अनुसार दर्शकसहित र दर्शकबिना खेलहरु खेलाउँदै जाने निर्णय भएको हो । बैठकले प्रदेशका सबै जिल्लामा पुस महिनाभित्र कलर बेल्टहरुको बेल्ट ग्रेडिङ सम्पन्न गर्ने र फागुन २, ३ र ४ गते प्रदेश मुकाम जनकपुरधाममा ब्ल्याक बेल्टको पहिलो, दोस्रो र तेस्रो डान बेल्ड ग्रेडिङ गर्ने निर्णय गरेको सचिव सिंहले बताए । नेपाल आइटिएफ तेक्वान्दो संघका केन्द्रीय सदस्य प्रभुनारायण शिवाकोटीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।