बागमती मेयर कपमा आयोजकलाई स्तब्ध पार्दै वडा नं. ७ सेमिफाइनलमा

3
शुक्रवारको खेल जितेर सेमिफाइनलमा प्रवेश गरेको वडा नं. ७ को टिम । (तस्बिर : उज्यालो अभियान)

नवराज अधिकारी/धरहरा – आयोजक अन्नपूर्ण साहारा क्लबको निलो टिमलाई पराजित गर्दै सर्लाहीको बागमती नगरपालिकाको वडा नं. ७ दोस्रो बागमती मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक अन्तिम क्वाटरफाइनल खेलमा शुक्रवार आयोजकको निलो टिमलाई १–० गोलले पराजित गर्दै ७ नं. वडाले सेमिफाइनलको यात्रा तय गरेको हो । शुक्रवारको खेलमा टिमलाई जीत दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडा नं. ७ का गोलरक्षक सरोज साह म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा आज (शनिवार) पहिलो सेमिफाइनल खेलमा आयोजकको रातो टिम र वडा नं. ८ ले खेल्ने छन् । मंसिर ३० गते फाइनल खेल हुने यस प्रतियोगिताको बिजेता र उपबिजेताले क्रमश : ५१ हजार र २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र हात पार्ने छन् । प्रतियोगितामा खेललाई विवादरहित बनाउन शुक्रवारबाट रेफ्री र लाईन्स म्यानका लागि कम्युनिकेशन हेडफोनको समेत व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष टंक बोहोरा (शीतल) ले जानकारी दिए ।

आयोजकले फाइनलकै दिन भर्खरै सम्पन्न १६ दिने लैंगिक हिंसा विरुद्धको दिवसलाई मध्यनजर गर्दै महिला खेलाडीबीच मैत्रीपूर्ण खेल गराउने तयारी गरेको छ ।