सर्लाहीमा वुधवार बिहानैदेखि बाक्लो हुस्सु

12
केही साताअघि लालबन्दी बजारस्थितको दृश्य । तस्बिर : (उज्यालो अभियान)

लालबन्दी – दिनानुदिन चिसो बढिरहेको सर्लाहीमा आज बिहानैदेखि बाक्लो मात्रामा हुस्सु लागिरहेको छ ।

यहाँका वासिन्दाले अत्यधिक चिसो महसुस गरेका छन् । आज बिहान ७ बजे सर्लाही जिल्लाको तापक्रम १४ डिग्री सेल्सीयस मापन गरिएको छ । यसअघि मंसिर ७ गते जिल्लाको तापक्रम यो वर्षकै सबै भन्दा कम १३ डिग्री सेल्सीयस मापन गरिएको थियो । विगत ३ दिनदेखि मौसम राम्रोसँग उघ्रिएको छैन् ।

बिहान–बेलुकासँगै दिउँसोको समयमा समेत हुस्सु लाग्न थालेसँगै चिसो बढ्दै गएको हो । बढ्दो चिसोले शरीर ढाक्ने ताता कपडा र न्यानो ओढ्ने–ओछ्याउने नभएका गरिब तथा पिछडिएको डोम, चमार, मुसहर लगायत अन्य दलित परिवार बढी प्रभावित भएका छन् । अधिकांश विपन्न परिवार चिसो छल्नकै लागि आगो बालेर ताप्न बाध्य छन् ।

चिसोले कठ्यांग्रिएर तराई मधेसका जिल्लामा बर्सेनि मानिसहरुले ज्यान गुमाउने गरेका छन् । यो बेलामा स–साना बालबच्चा, वृद्ध अवस्थामा बुवाआमा र अशक्त व्यक्ति चिसोबाट चाँडै बिरामी पर्ने भएकाले विशेष ख्याल गर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।