हरिवनमा वडाध्यक्षको व्यक्तिगत खर्चमा जेब्राक्रसिङ

जेब्राक्रसिङ निर्माण कार्यको आफै सुरुवात गर्दै वडाध्यक्ष रेजा । तस्बिर: उज्यालो अभियान

हरिवन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–११, स्थित बजारको मुख्य चौकमा वडाध्यक्ष शेष मेहबुब रेजाले आफ्नै खर्चमा जेब्राक्रसिङ निर्माण गराएका छन् ।

उनले हरिवनको कृष्ण चौकमा मंगलवार आफैले रंग र पेन्टरको खर्च बेहोरी जेब्राक्रसिङ निर्माण गराएका हुन् । सो स्थानमा मानिसको अत्यधिक भीडभाड हुने र सवारीको चाप पनि उस्तै हुने भएकाले सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै र यात्रुलाई समेत बाटो काट्न सहज होस् भनेर जेब्राक्रसिङ निर्माण गराएको वडाध्यक्ष रेजाले बताए ।

उनी आफै र हरिवन नगरपालिका ६ का वडाध्यक्ष प्रल्हाद बुढाथोकी, नेकपाका नेता चुडामणि वाग्ले, कुमार विष्ट, समाजसेवी अनिल हमाल, सुरक्षाकर्मी लगायत दिउँसो जेब्राक्रसिङ निर्माण स्थलमा उपस्थित भएका थिए । व्यक्तिगत खर्चमै आफूले हरिवनको एनआईसी एशिया बैंक र मालपोत कार्यालय अगाडि पनि जेब्राक्रसिङ बनाउने वडाध्यक्ष रेजाले बताए ।