चिसो बढ्यो

4
चिसो छल्न आगो बालेर ताप्दै गरेका सर्वसाधारण । (फाईल तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीसहित देशभर नै चिसो अझ बढेको छ ।

बिहान बेलुका र रातको समयसँगै दिउँसोपख पनि चिसो बढेको हो । केही दिनदेखि सर्लाहीसहित आसपासका जिल्लाको मौसम राम्रोसँग उघ्रिएको छैन् । सोमबार दिनभर नै हुस्सु लागिरहेर यस क्षेत्रमा घाम लागेन् ।

उत्तरी भेगको तुलनामा दक्षिणी भेगमा अझ बढी मात्रामा हुस्सु लाग्ने गरेको स्थानीय वासिन्दाले बताएका छन् । बिहान–बेलुका शीत झरेर हुस्सु लाग्ने र रातको समयमा चिसो हावा चल्दा गरिब तथा दलित परिवारहरु धेरै प्रभावित भइरहेका छन् ।

दिउँसोको समयमा पनि पारिलो घाम लाग्न छाडेर हुस्सु लाग्न थालेपछि तापक्रम घट्दै गएको हो । बढ्दो चिसोमा स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । यो बेलामा धूलो धूँवासँगै चिसोको संक्रमण अत्यधिक देखिँदा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने समस्या भएका बिरामीहरु बढिरहेका छन् ।

स–साना बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका मानिसलाई अहिलेको समयमा बढी ध्यान दिनुपर्ने भन्दै चिकित्सकहरुले झोलिलो र ताजा खानेकुरामा जोड दिन सुझाव दिएका छन् ।