उखुको मूल्य ६१७ रुपैयाँ कायम गर्न माग

8
बढाएर उखुको मूल्य तोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै उखु किसानका प्रतिनिधि । (तस्बिर : उज्यालो अभियान)

हरिवन – अघिल्ला वर्षहरुको भन्दा बढाएर उखुको मूल्य कायम गर्न सर्लाहीका किसानले माग गरेका छन् ।

यहाँका उखु किसानहरुको विभिन्न चार संगठनले आइतवार (हिजो) जिल्ला प्रशासन कार्यालय मलंगवामार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै यो वर्ष उखुको प्रतिक्वीन्टल मूल्य ६१७ रुपियाँ कायम गर्न माग गरेका हुन् । केही वर्षयता सरकारले प्रतिक्वीन्टल उखुको मूल्य ५ सय ३६ रुपैयाँ ५६ पैसा तोक्ने क्रममा उद्योगीले ४७१ रुपैयाँ २८ पैसा तथा सरकारले प्रतिक्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान स्वरुप किसानलाई उपलब्ध गराउने निर्णय गर्दै आईरहेको छ ।

अघिल्ला वर्षहरुमा भन्दा ८० रुपैयाँ बढी मूल्य कायम गर्न माग गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चिनी उद्योग संघलाई बोधार्थमा राखी बुझाइएको ज्ञापन पत्रमा उखु बेचेको १५ दिनभित्र उद्योगले दिने रकम र सरकारले उपलब्ध गराउने अनुदान रकम उपलब्ध हुनुपर्ने माग गरिएको छ ।

यस्तै उखु किसानहरुसँग सम्वन्धित नीति निर्माण गर्दा किसान प्रतिनिधिहरुलाई अनिवार्य सहभागी गराउन, अन्नपूर्ण चिनी मिल लगायत केही चिनी मिलहरुले उखु किसानलाई भुक्तानि दिन बाँकी बक्यौता रकम तुरुन्त भुक्तानि दिलाउन, अटेर गर्ने मिल मालिकलाई कारवाही गर्न, उखु खेती गर्ने किसानहरुलाई सुलभ ढंगले सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न, उखु खेतीमा उत्पादकत्व वृद्धि गर्न गुणस्तरीय बीउ, मल, प्रविधि, सिँचाई र औजारको व्यवस्था गर्न, अहिलेको अवस्थामा उखुलाई जातको आधारमा मूल्यमा विभेद नगरी देशभर नै उखुको एउटै मूल्य कायम गर्न पनि माग गरिएको छ ।

ज्ञापन पत्रमा मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उपे्रती, उखु किसान हकहित समिति सर्लाहीका उपाध्यक्ष रामशरण उप्रेती, अखिल नेपाल किसान महासंघ सर्लाहीका उपसंयोजक रामहरि प्रसाई र जिल्ला उखु उत्पादक संघ सर्लाहीका गोबिन्द मैनालीले हस्ताक्षर गर्नुभएको छ ।

ज्ञापन पत्रमा दुई वर्ष अगाडि चिनीमा आत्मनिर्भर हुन लागेको देशमा आज अरबौको चिनी आयत भइरहेको, ५ महिना भन्दा बढी समय चल्ने चिनी मिल ३ महिना पनि चल्न मुस्किल पर्न थालेको, नगदे बाली भनिने उखु बेचेको पैसा लिन किसानले रोईकराई गर्नुपर्ने अवस्था रहेको भन्दै किसानका संघसंगठनहरुले चिन्ता व्यक्त गरेका छन् ।