हुलाकी सडक निर्माण र नाका खुलाउन आन्दोलन

4
सर्लाहीको हरिपूर्वाहुँदै सदरमुकाम मलंगवासम्म पुग्ने धूलाम्मे हुलाकी सडक । (तस्बिर : जनार्जन खत्री/उज्यालो अभियान)

मलंगवा – अत्यन्तै खराब अवस्थामा रहेको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडक निर्माण र बन्द रहेको नेपाल–भारत सीमा नाका खुलाउनका लागि दबाब सृजना गर्ने उद्देश्यले सर्लाहीमा आज (आइतवार) बाट पुनः आन्दोलन सुरु हुँदैछ ।

सर्वपक्षिय संघर्ष समितिले आन्दोलनको कार्यक्रम अन्तर्गत आईतबार सदरमुकाम मलंगवास्थित नेपाल–भारत सीमा दशगजा नजिकै गोरखकाली नाकामा रिले धर्ना सुरु गर्नुका साथै आईतबारबाटै मध्यान्ह मलंगवामै मोटरसाइकल ¥याली निकाल्ने तयारी गरेको समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीले उज्यालो अभियानसँग बताए । उनले शनिवार साँझ एक प्रेस विज्ञप्ती निकालेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । जसअनुसार आजदेखि मंसिर २८ गतेसम्म निरन्तर दशगजामा धर्ना दिईरहने, त्यति बेलासम्म पनि नाका नखुलाईए २९ गते साँझ २० वटै पालिकामा मशाल जुलुस निकाल्ने, ३० गते सदरमुकाम मलंगवा बन्द गराउने र पुस १ गते जिल्ला नै बन्द गर्ने निर्णय भएको संघर्ष समितिका संयोजक चौधरीले बताए । अन्य मार्गबाट आउजाउ भइरहेकाले मुख्य नाका पनि खुलाएर सहज आवागमन गर्न दिनुपर्ने माग गर्दै छठ अघि लगातार दुई दिन पूर्व मन्त्री, सांसद, पालिका प्रमुख, उद्योगी, व्यापारी, नागरिक अगुवा लगायत गोरखकाली नाकामा पुगेर धर्नामा बसेका थिए ।

यस्तै अलपत्र हुलाकी सडकको निर्माण कार्य अघि बढाउन केही दिनअघि मलंगवामा बसेको सर्वपक्षिय बैठकले एक साताको म्याद दिएको थियो । तर अल्टिमेटम दिएको समयमा जीर्ण हुलाकी सडकको निर्माण कार्य अघि बढाउन बेवास्ता गरिएपछि हुलाकी सडकका लागि पनि आन्दोलन सुरु गर्न लागिएको हो । संघर्ष समितिले निर्माण कार्य अलपत्र छाडिएका फूलजोर–त्रिभुवननगर लगायतका भित्री सडकहरुको निर्माण कार्य पनि तत्कालै अघि बढाउन माग गरेको छ ।