बरहथवामा भएको क्रिकेटमा मलंगवालाई उपाधी

2
बिजेता टिमलाई पहिलो शिल्डसँगै धनराशीको चेक हस्तान्तरण गर्दै मेयर देवानन्द महतो । (तस्बिर : उज्यालो अभियान)

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–२ हजरियामा आयोजित खुला मेयरकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी मलंगवा हेल्थ एण्ड फिटनेस क्लबले जितेको छ ।

शनिवार सम्पन्न फाइनल खेलमा आयोजक शिवशक्ति जनहित सेवा समाज हजरियालाई १५० रनको विशाल अन्तरले पराजित गर्दै मलंगवा च्याम्पियन बनेको हो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको मलंगवाले आयोजक सामु २२३ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको थियो । मलंगवाको शानदार बलिङ समक्ष निरिह बनेको हजरियाले निर्धारित ओभरमा ७२ रन मात्रै बनाउन सक्यो ।

जीतसँगै बिजेता मलंगवाले १ लाख १ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा उपबिजेता हजरियाले ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताका बिजेता तथा उपबिजेतालाई संविधान सभा सदस्य हरि उप्रेती, बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, उपमेयर सीतादेवी माझी, आयोजक क्लबका अध्यक्ष सत्यलाल महतो लगायतले पुरस्कार वितरण गरे ।

बरहथवा नगरपालिकाको विशेष सहयोगमा कात्तिक २७ गतेदेखि सुरु भएको प्रतियोगितामा ३२ वटा क्लबले सहभागिता जनाएका थिए ।