बलरामा मन्त्री सहितको सहभागितामा सुशासन र मानव अधिकारबारे अन्तरक्रिया

11
कार्यक्रममा उपस्थित राज्यमन्त्री योगेन्द्र राय यादव सहित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

बलरा – सर्लाहीमा मानव अधिकार रक्षाका लागि क्रियाशिल भएर लाग्ने ६ जना व्यक्तिलाई शुक्रवार सम्मान गरिएको छ ।

युवा सशक्तीकरण केन्द्र बलरा नगरपालिका–६ मिर्जापुरले विभिन्न क्षेत्रमा क्रियाशिल ६ जनालाई शुक्रवार दिउँसो मिर्जापुर मठमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरुमा दलित अधिकारकर्मी पाँचु माझी, मानव अधिकारकर्मी मुकेश मिश्र, महिला अधिकारकर्मी रम्भा झा, सञ्चारकर्मी राधेश्याम प्रसाद कुशवाहा र महिला एवं बालबालिकाको क्षेत्रमा क्रियाशिल अन्तराष्ट्रिय संस्था यूएनएफपीएका बच्चालाल महतो र युवा सशक्तिकरणको क्षेत्रमा क्रियाशिल श्यामसुन्दर कुशवाहा रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ सरकारका भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले सम्मानपत्र प्रदान गरेका थिए । सतार अन्सारीको अध्यक्षतामा आयोजित कार्यक्रममा गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादव, महिला अधिकारकर्मी जस्मिना ओझा, रमा दाहाल, नागरिक समाजका शिवचन्द्र चौधरी लगायत विभिन्न व्यक्तित्वहरुको आतिथ्यता थियो ।
मानवाधिकार तथा सुशासन सुनिस्चितताका लागि प्रदेश र स्थानीय निकायको भूमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रममा जिल्लामा मानव अधिकारको अवस्थासँगै महिला हिंसा लगायतका विषयमा समेत अन्तरक्रिया गरिएको थियो ।