नगरपालिकाकै विकट वडामा पनि अनलाईनबाट व्यक्तिगत घटना दर्ता

1

कालिन्जोर – सर्लाहीको ईश्वरपुर नगरपालिकाको सबै भन्दा विकट क्षेत्रमा पर्ने वडा नं. १२ कालिन्जोरमा आज (वुधवार) बाट व्यक्तिगत घटनाहरु अनलाईनको माध्यमबाट दर्ता गर्न सुरु गरिएको छ ।

ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटाको प्रमुख आतिथ्यता एवं उपमेयर एकावती देवी चौधरीको विशिष्ठ आतिथ्यतामा सो सेवा प्रारम्भ गरिएको हो । अनलाईन सेवाको माध्यमबाट व्यक्तिले जुनसुकै ठाउँमा पुगी सहजै आफ्नो व्यक्तिगत घटनाको काम गराउन सक्ने र कागजी प्रणाली झैँ विवरण हराउने समस्याको अन्त्य हुने नगरपालिकाको पञ्जिकरण शाखाका एम.आई.एस. अपरेटर सरोज चौलागाईले जानकारी दिए ।

ईश्वरपुर नगरपालिकाको १५ वटा वडामध्ये अहिलेसम्म वडा नं. १०, ११, १२, १३ र १४ मा अनलाईनबाट घटना दर्ता सेवा कार्य सुरु भएको छ । बाँकी वडाहरुमा पनि क्रमैसँग यो सेवा प्रारम्भ गर्दै लगिने नगरपालिकाले जनाएको छ । दुई दिन अघिमात्रै वडा नं. १० र ११ मा यो सेवाको थालनी गरिएको थियो ।