कांग्रेस नेता पौडेलको गिरफ्तारी विरुद्ध हरिवनमा मसाल जुलुस

14

हरिवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको विरोधमा सर्लाहीको हरिवनमा बुधबार साँझ मसाल जुलुस प्रदर्शन भएको छ ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघमा आवद्ध युवाहरुले साँझ हरिवन बजार स्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर मसाल जुलुस प्रदर्शन गरेका हुन् । ओली सरकार मुर्दावाद, ओली सरकार राजिनामा दे लगायत नाराबाजी सहित युवाहरुले मसाल जुलुस प्रदर्शन गरेका थिए । पार्टीका वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा पार्टी निकट नेविसंघका विद्यार्थी एवं युवाहरुले मसाल जुलुस प्रदर्शन गरेको नेपाली कांग्रेस हरिवन नगर समितिका सचिव निरोज कार्कीले उज्यालो अभियानलाई बताए । मसाल जुलुस पश्चात विरनेध सभालाई सचिब कार्कीले सम्बोधन गरेका थिए ।

नेता पौडेललाई बुधबार दिउँसो तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । बुधबार साँझ प्रहरीले पौडेललाई छाडिसकेको छ । निषेधाज्ञाको अवज्ञा गर्दै ठूलो दलबल सहित पुल उद्घाटन गर्न गएकाले नेता पौडेललाई उनकै सुरक्षाका लागि नियन्त्रणमा लिईएको तनहु प्रशासनले दाबी गरेको छ । सत्ताधारी कम्युनिष्ट कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच झडप नै हुने स्थिती देखिएकाले निषेधाज्ञा जारी गरिएको तर नेता पौडेलबाट अवज्ञा भएको प्रशासनको दाबी छ ।

संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बिरोध जनाएका थिए । तर कांग्रेस नेता पौडेलले भने आफूहरुकै पालामा भएको योजना अनुसार पुल निर्माण भएको र उद्घाटन गर्न उपभोक्ता समिति, सम्बन्धित पालिका प्रमुखहरुले बोलाएपनि सरकारले सुनियोजित रुपमा आफ्ना कार्यकर्ता परिचालन गरेर विराेध गराउँदै आफूलाई प्रहरी मार्फत पक्राउ गराएको आरोप लगाएका छन् ।

फाेटाे क्याप्सन : बुधबार साँझ हरिवन बजारमा निकालिएकाे मसाल जुलुस ।