हुलाकी सडकको काम एक हप्ताभित्र अघि नबढे आन्दोलनको चेतावनी

5
बैठकमा आफ्नो मन्तव्य राख्दै सर्लाही क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादव । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – अलपत्र अवस्थामा रहेको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने निर्णय गरिएको छ ।

शनिवार सदरमुकाम मलंगवामा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले मङ्सिर २० गतेसम्म सडक निर्माणको काम अघि नबढे संघर्षमा उत्रने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले उज्यालो अभियान दैनिकलाई जानकारी दिए । संघीय सरकारबाट एक सातासम्म सडकको निर्माण कार्य अघि बढाउन पहल नभए मङ्सिर २१ गतेदेखि आन्दोलनमै उत्रने बैठकले निर्णय गरेको हो ।

बैठकले अहिलेका ठेकेदारमार्फत सडक निर्माणको काम पूरा हुन नसक्ने भन्दै नयाँ ठेकेदारमार्फत काम अघि बढाउन पनि माग गरेको छ । मलङ्गवादेखि पूर्वतर्फ सङ्ग्रामपुरसम्म, मलङ्गवादेखि पश्चिम रोहुवासम्म र त्यहाँदेखि बलरासम्म तीन खण्डमा गरी सडकको ठेक्का लागेपनि ठेकेदारले केही समय अघि माटो भर्ने लगायत सामान्य काम गरेपनि अन्य काम अघि बढाएका छैनन् । माटो भरेको ठाउँमा अहिले ठूल्ठूला खाल्डाखुल्डी परेर बुङबुङती धूलो उडिरहेको छ ।

हुलाकी सडक छेउछाउको बसाई र यात्रा अत्यन्त कष्टकर बनिरहेको स्थानीय वासिन्दाले गुनासो गरिरहेका छन् । हुलाकी सडकको बिजोग अवस्था देखेर सरोकारवालाहरु सडक बनाउने कार्यमा तातेका हुन् । बैठकमा सर्लाहीको २ र ४ नम्वर क्षेत्रका सङ्घीय सांसद महेन्द्र राय यादव र डा. अमरेश कुमार सिंह, प्रदेश सभा सदस्यहरु अशोक कुमार यादव, उपेन्द्र महतो, गौरीनारायण साह, हुलाकी सडकमा पर्ने विभिन्न पालिकाका प्रमुख, शीर्ष राजनीतिक दलका नेता, सुरक्षा अधिकारी, हुलाकी सडक हेर्ने चन्द्रनिगाहपुर र जनकपुरका प्रमुख, ठेकेदारका प्रतिनिधि, नागरिक समाज लगायत सहभागी थिए ।

सडक नबन्दा धूलोले जनजीवन निकै आक्रान्त भएको भन्दै बैठकमा सहभागी सांसद, पालिका प्रमुख र नागरिक समाजका अगुवाहरु नियमनकारी सडक कार्यालय र ठेकेदारका प्रतिनिधिसँग आक्रोशित भई प्रस्तुत भएका थिए ।

छलफलमा नेपाल–भारत सीमा नाका खुलाउन निरन्तर पहल र सङ्घर्षगरिरहने निर्णय समेत भएको मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले उज्यालो अभियान दैनिकसँग बताएका छन् ।