हरिपूर्वामा नगर योजना पारित हुन सकेन

4
हरिपूर्वा नगरपालिका कार्यालय ।

हरिपूर्वा – राजनीतिक सहमति जुट्न नसक्दा सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिकामा नगर योजनाहरु पारित हुन सकेको छैन् ।

गत असारमै नगर सभा प्रारम्भ गरेको दावी गर्दै आएको सो नगरपालिकाले योजनाहरु अहिलेसम्म पनि पारित गर्न नसकेको हो । वडाबाट छनौट भएर आएका योजना नगर सभाबाट पास नहुँदा विकासका काम ठप्प जस्तै छ ।

हरिपूर्वा नगरपालिकाका प्रमुख सियाराम रायले राजनीतिक सहमति जुटाउन आफूले निरन्तर प्रयास गरिरहेको बताए । आफू अल्पमतमा रहेकाले पनि बेलैमा योजनाहरु सूचारु गर्न नसकेको नगर प्रमुख रायले गुनासो गरेका छन् ।

कुटपीटको एउटा घटनामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय केही समय प्रहरी हिरासतमा परेपछि सो नगरपालिकाको कामकाज नै प्रभावित हुन पुगेको थियो । अधिकृत राय भने अहिले हिरासतमुक्त भइसकेका छन् ।

अब जतिसक्दो चाँडो नगर सभाबाट योजना पास गराइने नगर प्रमुख रायले जानकारी दिए । हरिपूर्वामा फरक–फरक पार्टीबाट निर्वाचित जनप्रतिनिधिबीच चर्को टकराब हुँदा बर्सेनि यस किसिमको समस्या देखिँदै आएको छ ।

जनप्रतिनिधिबीचको किचलोका कारण खासै विकास नहुँदा हरिपूर्वावासी निराश हुँदै आएका छन् । सर्लाहीमा दक्षिणी भेगका अन्य पालिकाहरुमा पनि राजनीतिक दल र जनप्रतिनिधिबीच द्वन्द्व हुँदा सर्वसाधारणले पाउने सेवा र विकासका काम प्रभावित भइरहेका छन् ।